ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र : साढे ४३ करोड बक्यौता, नतिर्नेको लाइन काटिँदै

२०८० कात्तिक, १३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत साढे ४३ करोड रुपैयाँभन्दा बढी विद्युत् महसुलको बक्यौता रहेको देखिएको छ । सडक बत्ती, कालोसूचीमा परेका, सरकारले उद्योगलाई दिएको छूट, उद्योग, पार्टी कार्यालयलगायतका संघसंस्थाबाट ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी रहेको हो ।

वितरण केन्द्रका अनुसार ६० दिनभन्दा बढी समय नाघेका ग्राहकको मात्रै ३५ करोड ४१ लाख ५३ हजार १६५ रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ । दुई वर्षभन्दा माथिको १० करोड ५६ लाख ४४ हजार रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालयको तथ्यांक छ । दुई महीनादेखि ६ महीनासम्मको ४ करोड ९८ लाख २० हजार, ६ महीनादेखि १२ महीनासम्मको २ करोड ८ लाख २८ हजार, १२ महीनादेखि २४ महीनासम्मको ३ करोड २९ लाख ५८ हजार रुपैयाँ महसुल उठ्न बाँकी रहेको वितरण केन्द्रका प्रमुख इन्जिनीयर राजेन्द्र पौडेलले जानकारी दिए ।

कोरोना महामारीको मारमा परेका उद्योगलाई सरकारले दिने भनेको विद्युत् महशुल रकमको छूट प्राधिकरणले अझ पाएको छैन । दुई वर्षभन्दा बढीको १३ करोड ८७ लाख १६ हजार रुपैयाँ बक्यौता सरकारी संस्थाले दिन बाँकी रहेको पौडेलको भनाइ छ । भरतपुरका सिँचाइ, सडक बत्तीको पनि बक्यौता उठ्न बाँकी देखिएको छ । भरतपुर महानगरपालिकाले पनि सडक बत्तीको रकम नियमित रूपमा तिरेको छैन । सडक बत्तीको मात्रै १२ करोड ६ हजार रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणको तथ्यांक छ । कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख रुपैयाँ उठ्न बाँकी छ । अहिलेसम्म दुई सय ६७ जना ग्राहक कालोसूचीमा परेका छन् ।

घरायसी बिजुलीको ८ करोड ६८ लाख १९ हजार, संस्थागत ७७ लाख १५ हजार, व्यावसायिक प्रयोजनको ३ करोड ११ लाख ८ हजार, सामाजिक संस्थाको १ करोड १५ लाख १० हजार रुपैयाँ बक्यौता रहेको वितरण केन्द्रले जानकारी दिएको छ । त्यस्तै मनोरञ्जन क्षेत्रको ५ लाख ६९ हजार ६६७, औद्योगिक क्षेत्रको २ करोड ९२ लाख ४१ हजार, खानेपानीको ३ लाख ४० हजार, अस्थायी, यातायात क्षेत्रको २० लाख रुपैयाँ उठ्न बाँकी छ । धार्मिक, सामाजिक र राजनीतिक संघसंस्था लगायतले पनि महसुल तिर्न बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।

उद्योग र व्यावसायिक प्रतिष्ठानले पनि तिरेनन् महसुल 

जिल्लाका कतिपय उद्योग र व्यावसायिक प्रतिष्ठानले पनि नियमित रूपमा विद्युत् महसुल तिरेका छैनन् । वितरण केन्द्रका अनुसार सबैभन्दा धेरै इको पोलिमरले ९ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी देखिएको छ । उद्योगको यो चार महीनाको बक्यौता हो । अनमोल फिड्सले ६ महीनादेखिको ८ लाख ३० हजार रुपैयाँ तिरेको छैन । त्यस्तै शक्ति प्लाष्टिक उद्योगले सात महीनाको ६ लाख १३ हजार, डेलिमा केटारले ६ महीनाको ४ लाख ७९ हजार, लेक ट्वान्टी फार्मर एण्ड रिसोर्टले चार महीनाको ४ लाख ५२ हजार रुपैयाँ तिर्न बाँकी छ । वितरण केन्द्रले इनर्जी फुडले एक वर्षको ४ लाख २२ हजार, फोर सिजन रेष्टुरेन्टले पाँच महीनाको ३ लाख ७९ हजार, लाइम एण्ड लेमन क्याफेले चार महीनाको ३ लाख ५८ हजार रुपैयाँ नतिरेको जानकारी दिएको छ ।

दुई महीनादेखि विद्युत् महशुल नतिरेका ग्राहकको आइतवारदेखि विद्युत् लाइन काट्न लागेको केन्द्रका इन्जिनीयर पौडेलले जानकारी दिए । ‘दुई महीनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्दै छौं,’ उनले भने, ‘६ महीनाभन्दा बढी समयको महसुल नतिर्नेलाई कालोसूचीमा राख्छौं ।’ हालसम्म दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखिएको कार्यालयको तथ्यांक छ, जसबाट ७३ लाख ३ हजार रुपैयाँ रकम उठ्न बाँकी छ । हालसम्म घरायसी प्रयोजनका दुई सय १४ ग्राहक र ३९ ओटा उद्योग कालोसूचीमा राखिएको वितरण केन्द्रले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)