चितवन। चितवनका एक व्यवसायीलाई अपहरणको धम्की दिने व्यक्ति पक्राउ परेका छन् । मंगलवार चितवन प्रहरीले पत्रकार सम्मेलन गरी धम्की दिने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ का ५५ वर्षीय रामचन्द्र थापालाई सार्वजनिक गरेको छ । थापाले व्यवसायीलाई २५ लाख रकम मागी नदिए अपहरण गरी मारिदिने धम्की दिएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए । थापा यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेर पटक पटक जेल बस्दै आएको प्रहरीले जानकारी दिएको छ । २०७५ सालमा डाँका कसुरमा ९ वर्ष जेल सजाय तोकिएका थापा ५० प्रतिशत जेलसजाय भुक्तान गरी गत जेठ २ गते गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए ।