काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरूमध्ये मंगलवार ३ जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तान्तरण गरिएको हो ।
विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रममाझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन् । त्यस्तै मंगलवार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् । त्यसैगरी एनसेल सेन्टर हेटौंडामा एनसेलका प्रोडक्टस् डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन् ।
यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चालन गरिएका पहलहरूमध्ये एक रहेको कम्पनीले जानकारी दिएको छ ।
भदौ ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरूलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।
यस योजनाअन्तर्गत दैनिकरूपमा ग्राहकहरूलाई प्रदान गरिएको स्योर प्राइजहरूमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरू रहेका थिए ।