काठमाडौं। जाजरकोट भूकम्पका प्रभावितलाई उद्योग वाणिज्य महासंघले करीब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको बताएको छ । महासंघले कर्णाली च्याप्टरमार्फत कात्तिक १७ गते पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेको थियो । त्यसपछि कर्णाली च्याप्टर मार्फत नै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो । महासंघले काठमाडौंमा गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिमार्फत बुधवार तेस्रो खेपको राहत सामग्री हस्तान्तरण गरेको छ । महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधि, पानीसहितका सामग्री प्रभावित क्षेत्रमा पठाइएको बताएको छ । यसैगरी अन्य संघसंस्थामार्फत संकलित राहत सामग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको जानकारी दिएको छ ।