काठमाडौं । सम्यक डाइग्नोष्टिक प्रालि र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)बीच स्वास्थ्य परीक्षणमा छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब एनएफपीजेका सदस्यहरूले सम्यक डाइग्नोष्टिकमा स्वास्थ्य परीक्षण गराउँदा छूट पाउनेछन् । बुधवार सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयूर गौतम र एनएफपीजेका वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतामा एनफपीजेका सदस्यसँगै तिनका परिवारका सदस्यहरू (बुवा, आमा, पति÷पत्नी, बच्चाहरू)को प्याथोलोजी र बायोकेमिस्ट्री परीक्षणमा छूट दिइनेछ । सो सुविधा सम्यक डाइग्नोस्टिकको जावलाखेल, मध्य बानेश्वर, गठ्ठाघर र बुढानिलकण्ठमा रहेका शाखाबाट प्राप्त हुने कम्पनीले जनाएको छ ।
सम्झौता कार्यक्रममा सम्यक डाइग्नोष्टिकको तर्फबाट अध्यक्ष डा. केयूर गौतम, डा. देभिश प्याकुरेल र एनएफपीजेका वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठ, कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठलगायत सदस्यहरू उपस्थित थिए ।
एनएफपीजे २०५३ सालमा स्थापना भई देशभरका क्रियाशील फोटो पत्रकारहरूको छाता सङ्गठनको रूपमा कार्य गर्दै आइरहेको संस्था हो । संस्थाले फोटो पत्रकारहरूको हकहितका लागि आवाज उठाउँदै आएको छ ।
सम्यक डाइग्नोष्टिक नेपालकै पहिलो आईएसओ प्रमाणित प्रयोगशाला हो । नेपालमा प्रयोगशालासम्बन्धी नवीन प्रविधि भित्र्याउन पनि सम्यकले भूमिका खेल्दै आएको छ । सम्यकले लगातार आफ्नो स्थापनाकालदेखि स्तरिय सेवामा विश्वास राख्दै आएको छ।