काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्मको खुद नाफा १० दशमलव २५ प्रतिशतले वृद्धि बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा तथा कोषमा करीब ७९ करोड ३३ लाख रुपैयाँ रहेको बताइएको छ, जुन अघिल्लो आवको अन्त्यसम्मको तुलनामा २१ दशमलव ८१ प्रतिशतले बढी हो ।
कम्पनीको लगानी ५ दशमलव ३९ प्रतिशतले बढेको बताइएको छ । असोज मसान्तसम्ममा कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले सो अवधिमा रू. १० अर्ब ९३ करोड कुल बीमाशुल्क आर्जन गरेको छ, जुन गतवर्षको सोही अवधिको तुलनामा ८ दशमलव ७२ प्रतिशतले बढी हो ।
यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमासमा १ अर्ब ५८ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७० पैसा रहेको छ ।