काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । सिप्रदियन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ५५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको हो । सिप्रदीका सातजना कर्मचारीले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्री त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन, न्यानो कपडा, सिरक, सिरानी लगायत अन्य सामग्रीको प्याकेज बनाएर सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरेका थिए । संस्थाका अनुसार हस्तान्तरण गरेका सामग्रीबाट झन्डै १ हजार २०० घरपरिवारका ४ हजार ८०० जना भूकम्प प्रभावित लाभान्वित भएका छन् ।
सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भूकम्पका कारण आफ्नो घर गुमाएका र वासको वैकल्पिक व्यवस्था नभएका प्रभावितलाई स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरिएको जानकारी दिए । विगतमा पनि सिप्रदियन सहायता संस्थाले टाटा ट्रष्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुन:स्थापना परियोजना’ सञ्चालन गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकका ९ ओटा विद्यालय तथा एउटा स्वास्थ्य चौकीको पुनर्निर्माण गरेको थियो ।