ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनको चौकीडाँडाको प्याराग्लाइडिङ पुन: सञ्चालनमा आउँदै 

२०८० मंसिर, ४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको पहाडी क्षेत्र चौकीडाँडामा सञ्चालित प्याराग्लाइडिङ सेवा पुन: सञ्चालनमा आउने भएको छ । सेवा सञ्चालन गरिरहेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले सहज सडकको व्यवस्था नहुँदा गत असार १५ देखि सेवा स्थगित गरेको थियो । सेवा मङ्सिर १५ देखि पुन: सञ्चालनमा ल्याउन लागेको कम्पनीका अध्यक्ष विजय घलेले जानकारी दिए । 

मुग्लिन नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उकालो कच्ची बाटो भएर चौकीडाँडा पुग्न सकिन्छ । कम्पनीले गत वैशाख १ गतेदेखि जिल्लामा व्यावसायिक उडान शुरू गरेको थियो । ‘भदौको अन्तिम सातादेखि प्याराग्लाइडिङ पुन: उडान गर्न सकिन्छ भन्ने सोच थियो, तर डाँडामा जाने सडक बर्खाले बिगारेको र मर्मतका लागि ढिलाइ भएकाले जान सकिएन,’ अध्यक्ष घलेले भने । पर्यटकीय सिजन र मौसम पनि सफा भएकोले मङ्सिर १५ गतेदेखि उडान शुरू गर्न लागिएको उनले बताए ।

भोर्लेबाट कविलास जाने सडक भरतपुर महानगरपालिकाले ठेक्का लगाए पनि बजेटको अभाव भन्दै कामले गति लिन नसक्दा उडान सेवामा समेत असर परेको हो । अहिले कम्पनी आफैले वर्षाले बिगारेका सडकको मर्मत गरेको बताइएको छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघ (नेफा)का महासचिवसमेत रहेका सञ्चालक शैलेन्द्र राउतले सडक सहज हुने बित्तिकै प्याराग्लाइडिङ उडान नियमित गरिने बताए ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने घोषणा गरेर प्याराग्लाइडिङलाई प्रमुख पर्यटकीय क्रियाकलापभित्र समेटेको छ । तर, दशैं अगाडि नै सञ्चालन हुनुपर्नेमा प्याराग्लाइडिङमा देखिएका समस्या समाधानमा गर्ने विषयमा भने सहयोग नपाएको व्यवसायीको गुनासो छ ।

कम्पनीले चौकीडाँडामै रिसोर्ट पनि सञ्चालन गर्ने बताउँदै आएको छ । यसको डिजाइन तयार गर्ने काम भइरहेको अध्यक्ष घलेले बताए । उनले भने, ‘सडक सहज हुने बित्तिकै रिसोर्ट निर्माणको काम पनि सहज हुन्छ ।’ प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ बिघा जग्गा कम्पनीले लिइसकेको छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ । कम्पनीले प्याराग्लाइडिङका लागि १ दशमलव ८५ नोटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । यस अनुसार सीधै ५ हजार मिटर माथिसम्म जान पाइनेछ । फटाफट उडेर त्रिशूलीमा झर्दा चौकीडाँडाबाट २० मिनेट लाग्नेछ । प्याराग्लाइडिङ तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गराइन्छ । सो ठाउँमा पनि केही रुखहरू काट्ने काम अगाडि बढाइएको छ । पर्यटकको चितवन बसाइ लम्ब्याउन यसले टेवा दिने विश्वास लिइएको अध्यक्ष घलेले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)