जनकपुरधाम। यस वर्षको छठ पर्वमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. २ करोडको नेपाली केरा विक्री भएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिले बताएको छ । छठ पर्वमा व्रतालुले फलफूल, हरियो तरकारी, उखुलगायत कृषिवस्तु सूर्यलाई अघ्र्यका रूपमा चढाउने गर्छन् ।
छठ पर्वमा केराको माग बढी हुन्छ । तर आपूर्ति कम भएकाले माग धान्न कठिन हुने गरेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाका भारदह, भन्टाबारी, इनरुवा लगायतबाट भित्र्याइएको थियो । गतवर्षको तुलनामा यस वर्ष केराको भाउ ३५ प्रतिशतले बढेको यादवले बताए ।
यस वर्षको छठका लागि जनकपुरमा एक घरी केरा ६०० देखि १ हजार ५०० रुपैयाँसम्ममा विक्री भएको थियो । छठ पर्वमा भन्सार छलेर भित्त्याइएको केराको मूल्य समेत प्रतिघरी ५०० देखि १ हजार १०० रुपैयाँसम्ममा रहेको स्थानीय भावना देवीले बताइन् ।