काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवामा रहेका वालेट कम्पनीहरूलाई कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । वालेट कम्पनीका सञ्चालकको आर्थिक कारोबार र पारदर्शितामा जोड दिँदै साइबर सुरक्षामा कडाइ गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । वालेट कम्पनीहरूको प्राविधिक पक्षलाई थप सुरक्षित बनाउन पनि विभिन्न व्यवस्था गरिएको छ । ग्राहकको हकमा २०८१ असार मसान्तसम्म सम्पूर्ण कागजात तथा विवरण लिई ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने व्यवस्था गर्नुपर्ने कुरा पनि निर्देशिकामा छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले वालेट सञ्चालन गर्न ग्राहक पहिचानसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न/गराउन आवश्यक कागजात/विवरणहरूको सूची तयार गरी अनलाइन फारम भर्ने/भराउने तथा अद्यावधिक गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।
एकीकृत निर्देशन कार्यान्वयन नभए पहिलोपटकका लागि सचेत गराउने वा नसिहत दिने, दोस्रोपटक १० लाख रुपैयाँ जरिवाना गर्ने र तेस्रोपटकदेखि २० लाख रुपैयाँ वा गम्भीरताअनुसार थप जरिवाना हुने भनिएको छ ।