काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता ‘सूर्य नेपाल सेन्ट्रल ओपन’ सोमवारदेखि शुरू भएको छ । प्रतियोगिताको पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ ७–अन्डर ६५ को नतीजासहित शीर्षस्थानमा छन् ।
गोकर्ण गल्फ क्लबमा जारी खेलमा सद्भाव आचार्य ६–अन्डर ६६ सहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै नीरज तामाङ ३–अन्डर ६९ सहित तेस्रो स्थानमा, २–अन्डर ७० सहित जयराम श्रेष्ठ चौथो स्थानमा छन् । तोरण विक्रम शाही प्रतियोगिताको पाँचौं, दिनेश प्रजापति र प्रदीपकुमार लामा छैटौं, पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई आठौं स्थानमा छन् ।
७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ । कुल ८ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार राशी रहेको प्रतियोगितामा पहिलो हुनेले १ लाख ४५ हजार, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: ९४ हजार र ७० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ ।