कास्की । पोखरामा नेपाल–चीन अन्तरराष्ट्रिय पर्वतीय ‘क्रसकन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ मूल नाराका साथ मङ्सिर ९ गते हुने प्रतियोगितामा सामूहिक विधामा नेपाल र चीनका १०/१० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ६०० खेलाडी सहभागी हुने बताइएको छ । पोखराको पर्यटन प्रवर्द्धन र खेलकुद शहरका रूपमा स्थापित गर्ने उद्देश्यले नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोटर््स एशोसिएशन र होटल एशोसिएशन पोखरा छन् । प्रतियोगितामा सहभागी हुन चीनको युनान प्रान्तबाट ७८ खेलाडी र अफिसियल गरेर १०४ जना चार्टड विमानमार्फत मङ्सिर ७ गते पोखरा आउने बताइएको छ ।
यसैगरी प्रतियोगितालाई सघाउन चिनियाँ स्वास्थ्यकर्मी र प्राविधिक आउनेछन् । प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार विधामा प्रतिस्पर्धा हुनेछ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् । धावकले दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरीे पार गरेपछि विजेताको छिनोफानो हुने संयोजकले पालिखेले बताए ।