काठमाडौं। मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । केबुलकार सेवाले हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउन योगदान गरेको कम्पनीको दाबी छ । २५ वर्षको अवधिमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । कम्पनीले मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको जानकारी दिएको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुने बताइएको छ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहने पनि प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।