विराटनगर। सुनसरीको ‘अरिहन्त मल्टिफाइबर्स लिमिटेड’ सामाजिक सुरक्षा कोष (एसएसएफ)मा योगदान गरेबापत सम्मानित भएको छ । कोषद्वारा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालबाट कम्पनीका सञ्चालक राजकुमार गोल्छाले प्रशंसापत्र ग्रहण गरेका हुन् ।
उत्पादनमूलक उद्योगको तर्फबाट कोषमा सूचीकृत रोजगारदातामध्ये आर्थिक वर्ष २०७९/८० मा योगदानकर्ता (श्रमिक)को संख्याका आधारमा उद्योग उत्कृष्ट भएको बताइएको छ । सुनसरीको दुहबीमा विगत ३१ वर्षदेखि सञ्चालित उद्योगमा ४२ सय श्रमिक कार्यरत रहेको, जसमा ४० प्रतिशतभन्दा बढी महिला श्रमिक भएको उद्योगका प्रशासकीय अधिकृत गोविन्द बजगाईंले जानकारी दिए । बजगाईंका अनुसार दैनिक ८५ मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगका सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् ।