काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले जाजरकोट भूकम्पका प्रभावितलाई रेडक्रसमार्फत १ लाख अमेरिकी डलर सहयोग गरेको छ । भूकम्पले ठूलो क्षति पुर्याएसँगै बैंकको आपत्कालीन सहायता साझेदार ब्रिटिस रेडक्रसलाई प्रभावित क्षेत्रमा खर्च गर्ने गरी १ लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरिएको बैंकले जानकारी दिएको छ । उक्त रकम ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भूकम्प प्रभावित परिवारको चिकित्सा सहायता, खाद्यान्न, पानी, राहत सामग्रीलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन खर्च गर्ने बताइएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले भूकम्प प्रभावितको सहयोगका लागि बैंक प्रतिबद्ध रहेको बताए । ‘भूकम्पबाट भएको क्षतिप्रति हामी दु:खी छौं र प्रभावितको सहयोगमा ऐक्यबद्धतामा प्रकट गर्छौं,’ उनले भने, ‘आवश्यकताको समयमा सकारात्मक परिवर्तनका लागि जस्तोसुकै सहयोग गर्न तयार छौं ।’ सहयोगले प्रभावितको राहत र उद्धारमा मद्दत पुग्ने बैंकको अपेक्षा छ ।
भूकम्प पश्चात बैंकले आकस्मिक राहत तथा उद्धारको क्षेत्रका अग्रसरता लिएर तत्काल सहयोग गरेको र अहिले पनि रेडक्रसमार्फत सहयोग पुर्याउन आन्तरिक रूपमा रकम जुटाइरहेको बैंकले जानकारी दिएको छ ।