काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । नेपालमा करीब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत् उत्पादन गरेको इप्पानका सदस्य संस्थालाई कार्बन ट्रेडबापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्यसहित सम्मेलनमा सहभागी हुन इप्पान प्रतिनिधिमण्डल संयुक्त अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेको हो ।
इप्पानका विज्ञ सल्लाहकार कृष्णप्रसाद भण्डारी र कार्यसमिति सदस्य मिथुन पौडेल कोप–२८ मा भाग लिन सोमवार युएई प्रस्थान गरेका हुन् । टोलीको बिदाइ गर्दै इप्पानका महासचिव बलराम खतिवडाले भ्रमण उपलब्धिमूलक बनाउन आग्रह गरे । विगतमा नेपालले कार्बन ट्रेडबापतको रकम लिन पर्याप्त अध्ययन गर्न नसकेको भए पनि अब इप्पानले विज्ञ समूह बनाएर कार्बन ट्रेडबारे अध्ययन गर्ने र अरू देशका जलविद्युत् प्रवद्र्धकले लिइरहेको सुविधा नेपाली प्रवद्र्धकलाई दिलाउन पहल गर्ने खतिवडाले बताए ।
इप्पानका सल्लाहकार भण्डारीले युएईमा जापान, अमेरिका लगायतका विकसित मुलुकका प्रतिनिधिसँग ‘साइड लाइन’ वार्ता गरेर नेपालमा जलवायुसम्बन्धी फण्ड भित्त्याउन पहल गर्ने बताए । इप्पानका कार्यसमिति सदस्य पौडेलले जलवायुसम्बन्धी च्यारिटी फण्ड ल्याउन पहल गर्ने बताए ।
इप्पानका प्रमुख कार्यकारी भीम गौतमले कार्बन विसर्जनको दुई तिहाइ हिस्सा निजी क्षेत्रको भए पनि लाभ जति सबै सरकारी पक्षले मात्रै लिएको भन्दै अब निजीक्षेत्रले पनि लाभ पाउने गरी कोप–२८ मा इप्पानका एजेण्डा प्रस्तुत गर्न आग्रह गरे ।