काठमाडौं। महालक्ष्मी विकास बैंकले आयोजना गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’का विजेताको घोषणा गरिएको छ । फोटोग्राफी दिवसका दिन प्रतियोगिताको घोषणा गरिएको थियो । प्रतियोगितामा ४० जना फोटोग्राफरका स्थानीय साना तथा मझौला व्यवसाय झल्कने १५० भन्दा बढी फोटोबाट १५ उत्कृष्ट तस्वीर छानिएको थियो ।
प्रतियोगिताका विजेता अभिषेक महर्जनले प्रमाणपत्रसहित २० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा उपविजेता बनेका शंकर भुजेलले प्रमाणपत्रसहित १५ हजार रुपैयाँ, तेस्रो बनेका नारायण महर्जनले प्रमाणपत्रसहित १० हजार रुपैयाँ र पब्लिक च्वाइस अवार्डअन्तर्गत गणेश रिजालले प्रमाणपत्रसहित ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताका अन्य प्रतियोगीलाई पनि प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
बैंकका कर्पोरेट कम्युनिकेशन हेड वसन्त बक्सीले प्रतियोगितामा समावेश सबै फोटो उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायले सकारात्मक सन्देश प्रदान गरेको बताए । उनले उत्कृष्ट १५ तस्वीरलाई बैंकको क्यालेण्डरमा समावेश गर्ने जानकारी दिए । प्रतियोगिताको मूल्यांकनका लागि ३ सदस्यीय जुरी अन्तर्गत बैंकका कर्पोरेट कम्युनिकेशन हेड बक्सी, भर्टिकल ३६० एड्भर्टिज्मेण्ट प्रालिका क्रियटिभ डाइरेक्टर उल्लास मग्राती र न्यु बिजनेश एज प्रालिका फोटो पत्रकार सुनिल शर्मा रहेका थिए ।