म्याग्दी।धवलागिरि क्षेत्रको मुस्ताङ र ढोरपाटनमा सोमवार हिमपात भएको छ । हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ । समयमै हिमपात हुँदा बाली सप्रने भएकोले किसानहरू उत्साहित भएका छन् भने चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ ।
मुस्ताङका सबै क्षेत्रमा सोमवार बिहानैदेखि हिमपात भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले जानकारी दिए । यस वर्ष समयमै हिमपात शुरू भएकाले किसानहरू खुशी भए पनि मुस्ताङ भ्रमणमा आएका पर्यटक, तीर्थयात्री र सर्वसाधारण चिसोका कारण समस्यामा परेको उनले बताए ।
माथिल्लो मुस्ताङको लोमान्थाङमा झण्डै २ फिटसम्म हिउँ जमेको स्थानीय टसी गुरुङले जानकारी दिए । उनका अनुसार हिमपातका कारण धाराको पानी समेत जमेको छ । चिसोका कारण लोमान्थाङ भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् ।
मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको लोमान्थाङलगायत उच्च हिमाली भेगमा सोमवार बिहानैदेखि हिमपात भएको स्थानीयले बताएका छन् । हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक किसान खुशी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय किसान उत्साहित भएको मुस्ताङका कृषक सिवान गुरुङले बताए ।
उता, बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पनि हिमपात भएको छ । मौसम बदलीसँगै हिमपात भइरहेको शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । ‘यस वर्ष पहिलोपटक ढोरपाटनमा हिमपात भएको हो,’ कँडेलले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।’ हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कुलबहादुर विकले बताए ।