काठमाडौं। कोका–कोला बेभरेजेज नेपालले वितरणलाई थप प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थिति सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप सार्वजनिक गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि डिस्ट्रिब्युटरमार्फत कोका–कोलाका पेयपदार्थ छिटो र सहज रूपमा अर्डर गर्न सकून् भन्ने उद्देश्यले यो एप सार्वजनिक गरिएको बताइएको छ । नेपालभरका २५६ वितरक र एक लाख ५६ हजार आउटलेटलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादन वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीको विश्वास छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्धक निर्देशक दीपकनाथ सेन्थिलले नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटलाई सहज रूपमा जोड्न र अर्डर लिन दिन सजिलो बनाएको बताए । ‘यस एपको शुरुआतले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरले ग्राहकलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौं,’ उनले भने । अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थ अर्डर गर्न प्ले–स्टोर वा एप–स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग–इन गर्न सक्ने बताइएको छ ।