काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ८० प्रतिशत शेयर किन्ने कम्पनी प्रतिष्पर्धाबाट छानिएको बताएको छ । एनसेलको शेयर खरीदविक्रीबारे प्रश्न उठेपछि कम्पनीले प्रेस विज्ञप्तिमार्फत यस्तो बताएको हो ।
एनसेलले मलेसिया आजिआटा कम्पनीले रेनोल्ड्स होल्डिङ्सको नाममा रहेको एनसेलको ८० प्रतिशत शेयर बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेचेको हो ।
एनसेलले जारी गरेको विज्ञप्तिम स्पेक्ट्रलाइटका नेपाली मुलका शेयरधनी सतिश लाल आचार्यले भनेका छन्, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी)मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरूमध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको हो ।’
नियमनकारी निकायको पूर्वस्वीकृतिबिना एनसेलको शेयर विक्री गरेको र कर छल्न खोजेको आशंकामा प्रश्न उठेपछि मंगलवार सत्तारुढ दलहरूको बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरीदविक्री रोक्न नियमनकारी निकायहरूलाई निर्देशन दिएको थियो ।