काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना कर्मचारीका लागि ‘शिशु स्याहार सुविधा’ बढाएको जानकारी दिएको छ । यो सुविधालाई समतामूलक र समावेशी संस्कृतिको जगेर्ना गर्ने बैंकको प्रतिबद्धताको एक हिस्साको रूपमा लिइएको बैंकको भनाइ छ । डिसेम्बर २०२३ देखि लागू हुने यो व्यवस्थामा आमाबाबु (बैंकका कर्मचारीहरू)लाई अब कम्तीमा २० हप्ता अर्थात् १४० क्यालेन्डर दिन सुविधा दिन पाइने बताइएको छ । यसको लाभ परिवारमा जोडिएका जुनसुकै सन्तान (धर्मपुत्र) समेतका लागि लिन सकिने बताइएको छ ।
बैंकले सबै कर्मचारीलाई बालबालिकाको हेरचाह गर्ने जिम्मेवारीमा समान रूपमा भाग लिन सक्ने गरी अवसर प्रदान गरेको बताइएको छ । बैंकका मानव संसाधन प्रमुख राजन उदासले बालबालिकालाई परिवारमा स्वागत गर्नु महत्त्वपूर्ण अवसर रहेको भन्दै बैंकले यस महत्त्वपूर्ण अवसरमा सहकर्मीलाई सहयोग गर्न चाहेको बताए । यसले संस्था र व्यक्ति दुवैको कार्यशैलीमा प्रभावकारिता आउने उनको भनाइ छ । यसबाट परम्परागत सामाजिक मान्यता कायम हुने उनले बताए ।