काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंककी अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभापछि जारी गरिएको विज्ञप्तिअनुसार बैंकले आर्थिक वर्ष २०२२÷२३ का लागि ४.९७ बिलियन सञ्चालन नाफा गरेको छ । बैंकको आम्दानी ४७ प्रतिशतले बढेर ७ अर्ब ८ करोड रुपैयाँ र करपछिको नाफा ५३.६ प्रतिशतले बढेर ३ अर्ब ५० करोड पुगेको छ ।
साधारण सभाले चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिने प्रस्ताव पारित गरेको छ । यो लाभांश ५ वर्षयताकै उच्च हो भने गत वर्षको तुलनामा २.५५ प्रतिशत बढी हो ।
बैंकका अध्यक्ष दारुवालाले जोखिम व्यवस्थापनको बलियो आधारशिलामा बैंकको फोकस र पूँजीलाई अप्टिमाइज गर्ने रणनीतिले देशमा बैंकको सञ्चालनको इतिहासमा सबैभन्दा उच्च वित्तीय प्रतिफल दिन सफल भएको बताइन् । ‘हामी वित्तीय कार्यसम्पादन सुधार जारी राख्नेछौं, किनकि राम्रो सेयरहोल्डर रिटर्नको लागि रणनीति कार्यान्वयन गर्नु हाम्रो प्राथमिक फोकस हुनेछ,’ उनले भनिन् ।
बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत शेयर रहेको विज्ञप्तिमा उल्लेख छ ।