चितवन। मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने नदी तथा वनमा आश्रित विपन्न समुदायका युवालाई सौराहामा आइतवारदेखि शीपमूलक तालीम दिन थालिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र सपना भिलेज सोसियल इम्प्याक्टको संयुक्त आयोजनामा कफी बारिस्ता, हस्पिटालिटी तथा कफी मेसिन मर्मत तालीम शुरू गरिएको हो । तालीम ४५ दिनसम्म चल्ने बताइएको छ । दुई संस्थाले १३ लाखको लागतमा ४९ जना युवालाई सो तालीम दिन लागेका हुन् । तालीमको संघीय सांसद हरि ढकालले उद्घाटन गरे ।
सांसद ढकालले राजनीतिक बेतिथिका कारण युवा शक्ति विदेशिने क्रम बढिरहेका बेला तालीमले रोजगारी सृजना गर्ने बताए । उनले तालीम लिएका युवालाई व्यवसाय सञ्चालनका लागि सहयोग गर्ने बताए । पछिल्लो समय कफीको बजार बढ्दै जाँदा रोजगारी सृजना हुने सम्भावना देखिएपछि तालीम दिन लागिएको सपना भिलेजका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका युवालाई शीपमूलक तालीम दिएर रोजगारीको अवसर सृजना गर्ने र उनीहरूलाई विदेश जानबाट रोक्ने उद्देश्यले तालीम आयोजना गरिएको उनको भनाइ छ । तालीमपश्चात् व्यवसाय सञ्चालनको लागि सहयोग गर्ने भन्दै सौराहामै यसको सम्भावना रहेको गिरीले बताए । सपना कफी रिसर्च एण्ड ट्रेनिङ सेन्टरका सुदिप भट्टराई र लोकनाथ रिजालले तालीममा सहजीकरण गर्ने बताइएको छ ।