काठमाडौं। नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले शुक्रवार पाण्डेयलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेयले यसअघि नेपाल बैंकबाटै मुख्य प्रबन्धक पदबाट अवकाश पाएका थिए । कृष्णबहादुर अधिकारीले चारवर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै बैंकमा सीईओ पद रिक्त थियो । बैंकले समता पन्तलाई निमित्त जिम्मेवारी दिई खुला प्रतिस्पर्धाबाट सीईओ छनोट प्रक्रिया अघि बढाएको थियो । बैंकले असोज २१ गते सीईओका लागि दरखास्त आह्वान गरेकोमा १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये छनोट समितिले पाण्डेयसँगै पन्त, अशोककुमार पौडेल, ध्रुवचन्द्र गौतम र लक्ष्मण पौडेललाई ‘सर्ट लिस्ट’मा छनोट गरेको थियो । ‘सर्ट लिस्ट’मा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजना र अन्तरवार्ताको आधारमा सीईओ छनोट गरिएको बैंकले जानकारी दिएको छ ।