काठमाडौं। निसानले नेपालमा एक्सट्रेल ई–पावर मोडल गाडीको विक्री शुरू गरेको छ । सन् २००१ देखि एक्सट्रेलका गाडी उत्पादन गर्दै आएको कम्पनीको यो चौथो जेनेरेसन भएको बताइएको छ । यसको शुरुआती मूल्य १ करोड ८७ लाख रुपैयाँ तोकिएको छ ।
निसानको ई–पावर विश्वभर धेरै उपभोक्ताले मन पराएको टेक्नोलोजी भएको र विश्वभर यसको विक्री ७० लाखभन्दा बढी भएको कम्पनीको दाबी छ । सीयूभी एण्ड साउथ एसिया बिजनेशका हेड एक्सपर्ट रघुनाथ नैरले निसानले नेपाली उपभोक्तालाई सस्तो मूल्यमा उत्कृष्ट सन्तुष्टि प्रदान गर्ने बताए ।
नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप शारडाले एक्सट्रेल ई–पावर पेट्रो इन्जिनको ब्याकअपसहित आरामदायी, बहुउपयोगी एसयूभीको सुविधासहित रहेको बताए ।
यसले पेट्रोल खपत निकै कम गर्ने र इलेक्ट्रिक कारलाई जस्तो यसलाई चार्ज गर्न बिजुलीमा जोडिरहनु नपर्ने बताइएको छ । प्रतिलिटर २० किलोमिटर माइलेज प्रदान गर्ने नयाँ एक्सट्रेलमा १८ इन्चको ह्वील, सबै एलइडी लाइट, मोसन भि सेप ग्रिल, ठूलो पानारोमिक शनरुफ, ५८५ लिटरको ठूलो बुट स्पेस पाउन सकिने कम्पनीको भनाइ छ ।