काठमाडौं। ३० वर्ष अगाडिदेखि पेन्ट्स उत्पादन गर्दै आएको जस्मिन पेन्ट्सले यो अवधिमा स्वदेशी उत्पादनमा उत्कृष्ट रहेको दावी गरेको छ ।
५० को दशकका शुरूमै बढ्दो आधुनिक घर निर्माणलाई अवसरको रूपमा लिएर पेन्ट्स उत्पादन शुरू गरेको कम्पनीले अहिले मुलुकभरका करीब ६० जिल्लाका एक हजार डिलरमार्फत व्यापार प्रवर्द्धन गर्दै आएको बताइएको छ । अहिले उद्योगमा मात्रै २ सयभन्दा बढीले रोजगारी पाएको बताइएको छ ।
उद्योगले हालै ताइवानको इन्नोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी पार्टनरशीप समेत गरेको छ । भविष्यमा नवीन प्रविधि र उपभोक्ताको माग अनुसारको अझ उत्कृष्ट उत्पादन बजारमा ल्याउने उद्योगको योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका निर्देशक मधुसुदन अर्याल उद्योगमा अहिले अर्बभन्दा बढी लगानी पुगिसकेको बताउँछन् । यसबीचमा कम्पनीका उत्पादनले आईएसओ गुणस्तर चिह्न ९००१:२००० प्राप्त गरेको उनको भनाइ छ । त्यस्तै सन् २०१८ मा ‘इन्टरनेसनल बिआईडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड–लण्डन’ र ‘नेपाल बेस्ट ब्राण्ड लिडरशीप अवार्ड–२०१८’ पाइसकेको कम्पनीले जानकारी दिएको छ ।