काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता ‘सूर्य नेपाल एनपीजीए म्याच प्ले’को पहिलो दिन डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । उनीसँगै पहिलो वरीयताका भुवन नगरकोटी, चौथो वरीयताका जयराम श्रेष्ठ, पाँचौं वरीयताका सञ्जय लामा, छैटौं वरीयताका रवि खड्का, सातौं वरीयताका रामे मगर, नवौं वरीयताका भुवनकुमार रोक्का र १५औं वरीयताका प्रदीपकुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् । कुल २ लाख ५० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा बुधवार पहिलो चरणमा पराजित भएका आठ खेलाडीले जनही ६/६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार, तेस्रो र चौथो हुने खेलाडीले क्रमश: ३२ हजार र २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्वार्टरफाइनल र सेमिफाइनलका खेल आज (बिहीवार) हुनेछ ।