उत्तम हवाई सीट चाहिए ‘सिक्स ए’ बुक गर्नुहोस्
हवाई यात्रुले यात्राका क्रममा आफ्नो सीटको स्थानबारे बोर्डिङ पासबाट थाहा पाए पनि कुन ठाउँको सीट सबैभन्दा उत्तम छ भनेर भेउ पाउँदैनन् । तर, ‘स्काईस्क्यानर’ नामक एक उड्डयन वेबसाइटले एक अध्ययनपछि यसको पनि उत्तर निकालेको छ । स्काईस्क्यानरले ४० देशका १ हजार हवाई यात्रुमा गरेको उक्त सर्वेक्षणमा धेरैले ‘सिक्स ए’ सीट रोज्ने गरेको बताए ।
यस क्रममा यात्रुहरुले जेट विमानको झ्यालसँगैको सीट सबैभन्दा आरामदायी हुने र यात्रामा आनन्द आउने बताए । वेबसाइटले यात्रुहरुलाई सीट प्रिफरेन्स (प्राथमिकता)बारे केही प्रश्न सोधेको थियो । उनीहरुलाई हवाईजहाजको कुन सेक्सनमा रहेको झ्यालसँगै जोडिएको सीट बढी मनपर्छ भनेर सोधिएको थियो । यात्रुहरुले आफ्ना भाग्यशाली अङ्कका आधारमा पनि सीट छान्ने गरेको भेटियो । कतिपयले जोड अङ्क आफूलाई भाग्यशाली भएको बताएका थिए भने कतिले बिजोड अङ्कलाई राम्रो मानेका थिए । त्यस्तै अध्ययनमा ४५ प्रतिशत यात्रुले जहाजको शुरुको छैटौं पङ्क्तिसम्मका सिट मनपराएको देखियो भने ६० प्रतिशतले झ्यालसँगैको सीट मनपराएको पाइयो ।
त्यसैगरी ‘आइल’ (प्यासेजसँगै)का सीट पनि केहीले ठीकै भएको बताए । तर, मध्यपङ्क्तिका सीटमा बस्दा सुविधा नहुने भएकाले यी सीट कसैले पनि मन पराएको पाइएन । यात्रुहरुले जहाजको पुछारमा रहेको बीचको ‘३१ ई’ सीट सबैभन्दा मन नपर्ने बताए । यो सर्वेक्षणपछि स्काईस्क्यानरले यात्रुहरुलाई आरामसँग सुत्न चाहेमा झ्यालसँगैको सीट र बारम्बार शौचालय जानुपर्ने भएमा ‘आइल’को सीट लिन सुझाव दिएको छ ।