काठमाडौं । अहिले आँपको सिजन चलिरहेको छ । जात अनुसार यसकाे मूल्य फरक छ । नेपाली बजारमा आँपको मूल्य प्रतिकेजी १०० देखि २५० रुपैयाँमा विक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।
तर, भारतको सिलगुडीमा गएको हप्ता 'मियाजाकी' प्रजातिको आँप सुनकै भाउमा बिक्यो । पश्चिम बंगालको बिरभम जिल्लाका एक किसानले उक्त प्रजातिको आँप प्रतिगोटा ३० हजार भारतीय रुपया (भारु)मा बेचे । यो रकम ५ ग्राम २४ क्यारेट सुनको भाउ बराबरकाे हो ।
बैजनी रातो खालको यो आँपको उद्गमस्थल जापानको मियाजाकी प्रिफेक्चर हो । यो विश्वको सबैभन्दा महँगो आँप पनि हो । विश्व बजारमा यो आँपको भाउ किलोकै २५ लाख रुपया छ । यो आँपको तौल ३५० ग्रामदेखि ९०० ग्रामसम्म हुन्छ ।
यो वर्ष भारतमा उक्त प्रजातिको आँप मात्रै होइन, अन्य जातको आँप पनि उच्च मूल्यमा बिकिरहेका छन् । प्रतिकूल मौसमका कारण उत्पादन प्रभवित हुँदा देशभर नै आँप महँगो बनेको छ ।
महाराष्ट्र र कोन्कान क्षेत्रमा फल्ने अल्फोन्सो जातको आँपको उत्पादन घटेर आधामा झरेपछि मूल्य बढेको व्यापारीहरू बताउँछन् ।
गुजरातमा केसर जातको आँप पनि छोइनसक्नु भएको छ । उत्पादन कम हुँदा निर्यात पनि प्रभावित बनेको छ । संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, कतार, कुवेत, ओमान, क्यानडा, सिंगापुर, बहराइन र भुटान भारतको मुख्य निर्यात बजार हुन् । तर यो वर्ष यी देशहरुमा जम्मा ३६ करोड रुपयाका मात्रै आँप निर्यात भए ।
फेब्रुअरीमा अल्फोन्सो आँपको फसल राम्रै थियो । तर, पाक्ने बेलासम्म आँप निकै कम फले । मुख्य सिजनअघि एक दर्जन अल्फोन्सो आँपको मूल्य ५ हजार रुपया थियो ।
गएको वर्ष अप्रिलमा जापानमा दुई दाना मियाजाकी आँप ५ लाख येन (झन्डै ४ हजार डलर)मा विक्री भएको थियो ।
भारतमा पछिल्लो समय किसानहरू यो प्रजातिको आँपको खेतितिर आकर्षित हुन थालेका छन् । यो आँप लटरम्मै फल्दैन । 'सूर्यको अन्डा' भनेर चिनिने यो आँपको स्वाद पनि अति नै मिठो हुन्छ । विदेशमा यो आँपलाई विशेषगरी उपहारको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । एजेन्सी