क्लुनीको घरमा ओबामाले उठाए डेढ करोड डलर
सन् २०१२ को नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको दौडाहामा निस्केका अमेरिकी राष्ट्रपति बाराक ओबामाले एकै दिनमा डेढ करोड डलर चन्दा उठाएका छन् । बिहीवार प्रख्यात हलिउड अभिनेता जर्ज क्लुनीको घरमा आयोजित एक कार्यक्रममा उपस्थित दाताहरुले चुनावी खर्चका रुपमा उदारतापूर्वक दिएपछि ओबामाले यो कीर्तिमानी रकम उठाएका हुन् ।
ओबामा तथा डेमोक्र्याटिक पार्टीको लामो समयदेखिका समर्थक क्लुनीले लस एञ्जल्स शहरस्थित निवासमा आयोजना गरेको ‘फण्डरेजिङ’ कार्यक्रममा रोबर्ट डाउनी जुनियर, ज्याक ब्ल्याक, सलमा हायक र जर्ज क्लुनीकी प्रेमिका स्टेसी गिब्लरलगायत हलिउडका हस्ती सामेल थिए । त्यस अवसरमा उपस्थित १ सय ५० समर्थकसँग राष्ट्रपति ओबामाले व्यक्तिगत रुपमै भेटघाट गर्दै एक डिनरमा समेत सामेल भएका थिए ।
फण्डरेजिङ कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति ४० हजार डलर शुल्क तोकिएको थियो । यो शुल्कबाट मात्रै ६० लाख डलर उठेको बताइएको छ । त्यसैगरी कुल रकममध्ये बाँकी साना चन्दादाताका लागि आयोजित राफल चिट्ठाबाट उठेको थियो । राफल जितेका दुई महिला आफ्ना श्रीमान्का साथ डिनरमा सहभागी भए ।
अमेरिकामा फण्डरेजिङ कार्यक्रमका क्रममा एकै दिनमा उठेको यो चन्दा रकम अहिलेसम्मकै सबैभन्दा बढी हो । कार्यक्रममा ओबामाले ह्वाइटहाउसमा पुनः आसीन हुने यो बाटो अघिल्लो निर्वाचनभन्दा फरक हुने ठट्यौलो पारामा बताए । ‘सन् २००८ को निर्वाचन एकप्रकारले चट्याङलाई बोतलभित्र बन्द गर्नुजस्तो थियो (इट वाज लाइक लाइटनिङ इन ए बोटल)’, ओबामाले भने । उनले ४ वर्षका आर्थिक अप्ठ्याराले अमेरिकीलाई परिवर्तन गरेको उल्लेख गरे ।