स्मार्टफोन र ट्याब्लेट पीसीको बढ्दो विश्वव्यापी लहरसँगै प्रयोगकर्ताहरुका मोबाइल उपकरणमा विभिन्न प्रकारका आकर्षक योजना प्रस्तुत गर्दै फसाउन खोज्ने ‘पप–अप’ विज्ञापनहरु तीव्र गतिमा फैलिरहेको हालै गरिएको एक अध्ययनमा पाइएको छ ।
अमेरिकाको सानफ्रान्सिस्को शहरस्थित मोबाइल सुरक्षामा काम गर्ने कम्पनी ‘लूकआउट’ले गरेको उक्त अध्ययनमा विश्वभर करोडौं प्रयोगकर्ताका स्मार्टफोन र ट्याब्लेटमा गलत नियतले बनाइएका विज्ञापनहरु प्रवाहित भइरहेका छन् । कम्पनीका अनुसार विभिन्न आकर्षण दिइएका ती विज्ञापनहरुको प्रमुख लक्ष्य भनेको प्रयोगकर्ताका मोबाइल ग्याजेटमा रहेका गोपनीय तथ्यहरु चोर्ने नै हुने गरेको छ ।
प्रलोभनयुक्त पप–अप विज्ञापन देखाएर साइबर अपराधीहरुले प्रयोगकर्ताहरुका स्मार्टफोन तथा ट्याब्लेटमा जासुसी गर्न र तथ्याङ्क चोर्न ‘स्पाइवेयर’ पठाइरहेको कम्पनीको भनाइ छ । त्यस्ता विज्ञापन कुनै एजेन्सीको नाममा दिइए पनि अध्ययनमा ती सबै जाली पाइएका थिए ।
कतिपय प्रयोगकर्ताका मोबाइल उपकरणमा पप–अप विज्ञापन टेक्ष्ट मेसेज नोटिफिकेशन अथवा एप्लिकेशन आइकनका रुपमा समेत भेटिएको लूकआउटले उल्लेख गरेको छ । त्यसरी विज्ञापन नियमित रुपमा आउने गरेका स्मार्टफोन र ट्याब्लेटका वेब ब्राउजर सेटिङ र बूकमार्क नै परिवर्तन हुने गरेको अध्ययनमा देखिएको थियो । त्यसो गर्दा अनलाइन अपराधीहरुलाई जाली विज्ञापनहरु झन् धेरै सङ्ख्यामा पठाउन सजिलो हुने कम्पनीको भनाइ छ ।
अध्ययनमा सामेल गरिएका ३ लाख ८४ हजार विज्ञापनयुक्त एप्लिकेशनमध्ये १९ हजार २ सय ओटा ठगी गर्नका लागि नै बनाइएका पाइएको थियो। प्रयोगकर्ताहरुले अज्ञानतावश ती एप्लिकेशनहरु झण्डै ८ करोड पटक डाउनलोड गरिसकेको अनुसन्धानकर्ताहरुले बताए । त्यसैगरी तीमध्ये नै कतिपय विज्ञापनले प्रयोगकर्ताका स्मार्टफोनका फोनबूकमा रहेका मानिसहरुको मोबाइल नम्बर चोर्ने गरेको पनि भेटिएको थियो ।
त्यसपछि अपराधीहरुले चोरी गरिएका मोबाइल नम्बरहरु विभिन्न उत्पादन विक्री गर्ने मार्केटिङ कम्पनीहरुलाई बेच्ने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । लूकआउटले मोबाइल उपकरणमा प्रयोग हुने एण्ड्रोइड र एप्पल आईओएसजस्ता अपरेटिङ सिष्टमको कमजोर सुरक्षा प्रणाली यसका लागि मुख्य जिम्मेवार रहेको दाबी गरेको छ । प्रयोगकर्ताहरुलाई यस्ता कुनै पनि विज्ञापन देखिएमा राम्ररी जाँच नगरीकन एप्लिकेशन डाउनलोड नगर्न लूकआउटले सुझाव दिएको छ ।