ईमेल इन्बक्समा ‘स्पाम’ मेलको अनियन्त्रित बाढीले दिक्क भएका प्रयोगकर्ताहरुलाई खुशीको खबर । यो समस्याले तपाईं हैरान हुनुभएको छ भने अब तपाईंले थोरै सङ्ख्यामा मात्र स्पामको सामना गर्नुपर्नेछ । किनकी, गत सप्ताहन्तसम्म गरिएको एक बृहत् अनलाइन कारबाहीमा विश्वको सबैभन्दा ठूलो स्पाम उत्पादक ‘ग्रम’लाई अफलाइन बनाइएको छ । ‘विश्व वेब सञ्जालमा फैलिएका आधाजसो स्पामको अन्त्य भएको छ,’ अमेरिकी इण्टरनेट सुरक्षा कम्पनी ‘फायरआई’का विशेषज्ञ अतिफ मुस्ताकले भने ।
मुस्ताकको समूह ग्रमलाई हटाउने एक विश्वव्यापी अभियानमा सामेल भएको थियो । यसका लागि विश्वका कम्प्युटर तथा वेब सुरक्षामा कार्यरत कम्पनी र स्वतन्त्र विज्ञहरुले एक संयोजित कारबाही थालेका थिए । ‘द ग्रम बुटनेट’ नाम दिइएको यो अभियानमा यो स्पाम उत्पादक मालवेयरबाट सङ्क्रमित नेटवर्क पहिचान गरी तिनलाई निस्क्रिय तुल्याइएको थियो । ग्रमले स्वचालित ढङ्गबाट दैनिक १८ अर्ब स्पाम मेल निर्माण गर्दै विश्वका विभिन्न वेब नेटवर्कलाई सङ्क्रमित गर्दै आइरहेको थियो ।
यो मालवेयरबाट सङ्क्रमित भएका कम्प्युटरका प्रयोगकर्तालाई थाहै नदिई ग्रमले तिनका ईमेल ठेगानाबाट मेलहरु उत्पादन गर्दै फैलाउने गरिरहेको थियो । यसबाट ग्रम बुटनेटमाथि नियन्त्रण गर्न सक्ने साइबर अपराधीहरुले निर्धारित सर्भरहरुमाथि ‘डिनायल–अफ–सर्भिस’ (डीओएस) आक्रमण गर्दै करोडौं डलरको क्षति पुर्याइरहेका थिए । अपराधीहरुले डीओएस आक्रमण गर्ने धम्की दिँदै वेब सेवा प्रदायक तथा विभिन्न व्यापारिक कम्पनीसँग उल्लेख्य फिरौती असुलिरहेका विशेषज्ञहरुले बताएका छन् । यसमा ग्रमबाट सङ्क्रमित कम्प्युटरको बुटनेट (समूह) जति ठूलो हुन्थ्यो, अपराधीहरुको आक्रामक क्षमता त्यति नै ठूलो हुने उनीहरुको भनाइ छ ।
ग्रम मालवेयरको उत्पत्ति कहाँबाट र कहिलेदेखि भयो भन्ने कुरा यकिन हुन नसके पनि सन् २००८ मा यसलाई पहिलोपटक पहिचान गरिएको थियो । यसले फर्मास्युटिकल्स कम्पनीहरुको फर्जी विज्ञापन दिँदै प्रयोगकर्ताहरुलाई लोभ्याउने गर्दथ्यो । यो अभियानमा समेल विशेषज्ञहरुका अनुसार यसलाई सञ्चालन गर्ने कमाण्ड सर्भरहरु रुस, पानामा, नेदरल्याण्ड्स, यूक्रेन, हङकङलगायतका देशमा भेटिएका थिए । ‘यो मालवेयर अब फेरि सक्रिय हुँदैन भन्नेमा हामी विश्वस्त भएका छौं,’ मुस्ताकको दाबी थियो ।