कुनै काममा पनि सक्रिय नहुनु अथवा शारीरिक ब्यायामयुक्त काममा सामेल नहुनुले विश्वभर धूमपानबाट हुने मृत्युजत्तिकै मृत्यु गराइरहेको हालै गरिएको एक अध्ययनले देखाएको छ । बेलायती मेडिकल जर्नल ‘द लान्सेट’को पछिल्लो अङ्कमा प्रकाशित उक्त अध्ययनको रिपोर्टमा विश्वका एक तिहाइ बयस्कहरुले शारीरिक कसरत हुने खालका कुनै पनि काम नगरिरहेको बताइएको छ । ‘त्यसबाट वर्षेनि ५३ लाख मानिसको मृत्यु भइरहेको पाइएको छ,’ रिपोर्टमा उल्लेख छ ।
शारीरिक कसरत नगर्नेहरु विशेषगरी मुटुका समस्या, डायबेटिज, स्तन तथा कोलोन क्यान्सरजस्ता रोगबाट मर्ने गरेको रिपोर्टमा जानकारी दिइएको छ । अनुसन्धानकर्ताहरुले यो विश्वभरि नै महामारीका रुपमा फैलिइरहेकाले त्यसैअनुसार समस्या समाधानको कदम उठाइनुपर्ने बताए । विशेषगरी उच्च आय भएका विकसित देशमा यो समस्या अन्यको तुलनामा बढी देखिएको रिपोर्टमा उल्लेख छ ।
अनुसन्धानकर्ताहरुले ‘निस्क्रियता’को समस्या बेलायतमा सबैभन्दा खराब बन्दै गइरहेको र त्यहाँका झण्डै दुई तिहाइ बयस्कहरु केही पनि कामै नगरी जीवन निर्वाह गरिरहेको बताए । विश्वका विभिन्न अस्पताल र स्वास्थ्य अनुसन्धान केन्द्रमा कार्यरत ३३ जना अनुसन्धानकर्ताको टोलीले सरकारहरुले आफ्ना नागरिकलाई सहज र सुलभ ढङ्गले शारीरिक कसरत उपलब्ध गराउने नीति लिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले बयस्कहरुलाई एक हप्तामा १ सय ५० मिनेटजति हिँडडुल र साइक्लिङजस्ता मध्यमस्तरको ब्यायाम गर्न सल्लाह दिएका छन् ।
‘निस्क्रिय जीवनले दीर्घकालीन रोगहरु निम्त्याउँछ,’ अनुसन्धान टोलीकी सह–संयोजक डा. आई–मिन लीले भनिन् । डा. लिका अनुसार लण्डन ओलम्पिक्सको अवसर पारेर यो अध्ययन गरिएको हो । ‘२०१२ को लण्डन ओलम्पिक्सले विश्वभरका मानिसको ध्यान खेल तथा शारीरिक कसरततर्फ तान्नेछ,’ अनुसन्धान टोलीका सदस्य पेड्रो हलालको भनाइ थियो ।
दर्शकहरु आफ्ना टेलिभिजन सेटमा प्रतिस्पर्धाहरु हेरिरहे पनि निस्क्रिय नै बस्ने भएकाले आफूहरुको यो प्रयास उनीहरुलाई सक्रिय बनाउन केन्द्रित भएको हलालले उल्लेख गरे । उनले निस्क्रियताको समस्या विकराल बन्दै गएकाले यसलाई समाधान गर्न नयाँ सोच आवश्यक भएको बताए । ‘मानिसलाई सक्रिय जीवनका लाभहरुमात्र सम्झाउनेभन्दा पनि निस्क्रियताका जोखिम र खतराहरुबारे सचेत पार्दा फाइदा हुने हामीले अनुसन्धानमा पायौ,’ उनको भनाइ थियो ।