कुनै पनि देशको आर्थिक समस्या शुरु भएको थाहा पाउन प्रसिद्ध अमेरिकी रकगायक ब्रुस स्प्रिङस्टिनका गीत सुन्न अष्ट्रेलियाका अर्थमन्त्रीले सुझाएका छन् । अष्ट्रेलियाका अर्थमन्त्री वेन स्वानले बुधवार सत्तारुढ लेबोर पार्टीका सदस्यहरुलाई एक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै यस्तो सुझाव दिए ।
स्वानले आर्थिक समस्याको समाधान खोज्न जोन मेनार्ड केन्स र मिल्टन फ्रिडम्यानजस्ता प्रसिद्ध अर्थशास्त्रीका रचना पढ्न आवश्यक नभएको बताए । ‘अमेरिकी अर्थतन्त्रको सङ्कटलाई स्प्रिङस्टिनले आफ्ना गीतमा भविष्यवाणीका रुपमा प्रस्तुत गरेको तपाईं सुन्न सक्नुहुन्छ, अमेरिकासहित विश्वका नाम चलेका अर्थशास्त्रीहरुलाई पत्ता लगाउन गाह्रो भइरहेको विषयलाई उनले आफ्ना गीतमा सुन्दर तरीकाले प्रस्तुत गरेका छन्,’ स्वानले भने । सन् १९७५ मा विश्वविद्यालय पढ्दाखेरी आफू पहिलोपटक ‘बर्न टू रन’ गीत सुनेपछि अमेरिकाको न्यू जर्सी राज्यका यी रकस्टारको प्रशंसक बनेको उनले बताए ।
सम्बोधनका क्रममा उनले एक इण्टरनेट भिडियो क्लिप पनि देखाए, जसमा एक अष्ट्रेलियाली रक ब्याण्डकी सदस्यसमेत रहेकी उनकी छोरी एरिन ब्रुस स्प्रिङस्टिनको गीतमा नाचिरहेकी थिइन् । स्वानले स्प्रिङस्टिनका न्यू जर्सी राज्यको घरजग्गा उद्योग घराशयी भएपछि गाएको द रिभर आफूलाई साह्रै मनपर्ने गीत भएको उल्लेख गरे । त्यसैगरी न्यू जर्सीका टेक्सटाइल मिल र कपडा पसलहरु बन्द भएको वर्णन गर्ने माई होमटाउन शीर्षकको गीत पनि त्यतिकै कर्णप्रिय लाग्ने स्वानको कथन थियो । सन् २०११ मा बैङ्किङ पत्रिका यूरोमनीद्वारा वर्षका अर्थमन्त्री घोषित उनले स्प्रिङस्टिनका अहिलेका गीतहरुले अमेरिकामा भइरहेका आर्थिक र सामाजिक परिवर्तनलाई झल्काइरहेको जिकीर गरे ।