यो संसारमा प्रायः सबै मानिस विभिन्न कारणले रिसाउने वा आक्रोशित हुने गर्दछन् । त्यसैगरी रिसाउनेहरुको रिस पनि विभिन्न प्रकारले शान्त हुने गर्दछ । तर, राल्फ शुल्ट र अलेक्जेण्डर ब्राण्डेनबर्ग नाम गरेका दुई जर्मन उद्यमीले मानिसको रिसलाई शान्त गर्ने अनौठो व्यापारको शुरुआत गरेका छन् । त्यसका लागि उनीहरुले तयार एक हटलाइन टेलिफोन नम्बर, जसमा फोन गरेर रिस उठेकाहरुले आफ्नो मनमा रहेका आक्रोश पोख्न सक्छन् । ‘सिम्फ–लोस’ (गाली गर्ने) नाम दिइएको यो हटलाइनमा फोन गरेर मानिसहरुले आफ्नो रिस मज्जाले पोख्न सक्छन् ।
उनीहरुको फोन उठाउने काम पनि कुनै स्वचालित आन्सरिङ मेशिन अथवा कम्प्युटर प्रणालीले नगरी वास्तविक मानिसले नै गर्ने गर्छन् । कुनै कारणवश रिसाएकाहरुले गाली गरिरहँदा पनि फोन उठाउनेहरु शान्त भएर सुन्ने र आक्रोशित ग्राहकलाई शान्त पार्ने गर्छन् । रिसाएकाहरुसँग वार्तालाप गर्नेहरुले जस्तोसुकै खराब गाली पनि सुन्ने गर्छन् । ‘हामीहरु आक्रोशलाई मूल्याङ्कन गर्ने गर्दैनौं, रिसाउनु भनेको मानवजन्य स्वभाव नै हो,’ राल्फ शुल्टले भने । शुल्ट र ब्राण्डेनबर्गले यसका लागि एक कल सेण्टर नै निर्माण गरी यसको सेवा हप्ताका सातै दिन चालू रहेको र दैनिकजसो विभिन्न कारणले आक्रोशितले ठूलो सङ्ख्यामा फोन गर्ने गरेको जानकारी दिए ।
गाली सुन्ने हटलाइनका सञ्चालकहरुका अनुसार उनीहरु आफैंले भोगेको तनावपूर्ण दैनिकीबाट यो सेवा शुरु गर्न प्रेरणा मिलेको हो । शूल्टले घर अथवा कार्यालयमा भोग्ने तनाव र उत्पन्न हुने आक्रोशलाई शान्त गर्दै उनीहरुको जीवनलाई सहज तुल्याउने यो सेवाले सहयोग पु¥याइरहेको बताए । यसबाट बिग्रन लागेको कामसमेत फेरि सहि मार्गमा आएको उनको भनाइ थियो ।
‘सिम्फ–लोस’ हटलाइन फोन प्रयोग गर्न प्रतिमिनेट १ दशमलव ४९ यूरो शुल्क निर्धारण गरिएको छ । राल्फ शुल्टले भने यति शुल्क ठीक रहेको उल्लेख गरे । ‘आफ्नो मनमा रहेको आक्रोशलाई फालेर जीवन सामान्य बनाउने यो सेवाका लागि ग्राहकले आफूले तिरेको शूल्कको पूरा मूल्य पाउँछन् ।