जापानी पुरूषका लागि गर्मीयाम भन्नुको परम्परागत अर्थ ‘शेभ्ड आइस’ (बरफबाटै बनाइएको एक विशेष पेय) र चिसो चाउचाउलगायतका शीतलता दिने पेय र खाद्य हुने गर्दछ । गतवर्षसम्म उनीहरु घाममा हिँड्दा भने सामान्य रुपमै हिँडिरहेका हुन्थे । तर, ३७ डिग्री सेण्टिग्रेडसम्म पुगेको यो वर्षको उखर्माउलो गर्मी र घामका कारण जापानी पुरूष पनि महिलालाई नै अनुसरण गर्दै छाता ओढ्न थालेका छन् ।
जापानका डिपार्टमेण्ट स्टोर सञ्चालकहरुले दिएको जानकारीअनुसार पुरुषमाझ छाता ओढ्ने चलन बढ्न थालेपछि यो वर्ष उच्च दरले छाताको विक्री बढेको छ । ‘पुरूषले ओढ्ने छाताको माग गतवर्षभन्दा तीन गुणाले बढेको हामीले अनुभव गरेका छौं,’ टोकियोको सबैभन्दा ठूलो डिपार्टमेण्ट स्टोर ताकासीमायाकी प्रवक्ताले भनिन् ।
महिलाले फेशनका लागि ओढ्ने ‘तागासी’ (परम्परागत जापानी छाता)भन्दा फरक पुरूषले आफ्नो व्यापार, कार्यालय र बैठकहरुमा जानका लागि छाता ओढ्ने गरेको उनले बताइन् । ‘कार्यालयमा पुग्दा घामले रातो भएको पसिनायुक्त अनुहार जापानी पुरूषले मन पराउँदैनन्,’ उनले थपिन् । उनले पुरूषले घाममा ओढ्ने छाताको मूल्य गुणस्तर र डिजाइनअनुसार २ देखि १७ हजार येनको बीचमा रहेको जानकारी दिइन् ।
केही वर्षयता जापानी पुरूषमा पनि छालाको हेरचाह गर्ने सौन्दर्य प्रसाधनमा खर्च गर्ने चलन बढेको छ । तर, गतवर्षका प्राकृतिक र आणविक विपत्तिपछि विद्युत्को बारम्बारको कटौतीले गर्दा पुरुष सौन्दर्य प्रसाधनको विक्री ह्वात्तै बढेको व्यापारीहरु बताउने गर्छन् । त्यसैगरी विद्युत् आपूर्तिको कमीले कार्यालय र घरमा एयरकण्डिशनरको प्रयोग घट्दै गएपछि जापानी पुरूष अन्य विकल्पउन्मुख हुँदै गएको पदि देख्न सकिन्छ ।
जापानको वातावरण मन्त्रालयले हालै गरेको एक अध्ययनमा पुरूषको ठूलो सङ्ख्या छाता ओढ्नुका साथै छोटो बाहुला भएका शर्ट र टाईविनाको सुट लगाएर कार्यालय गइरहेका हुन्छन् । यी उपायहरुले घाम र गर्मीका कारण हुने तनावलाई २० प्रतिशतसम्मले घटाउने मन्त्रालयको भनाइ छ ।