अन्य दैनिक कामहरुका अलावा फेसबूकजस्तो इण्टरनेट सामाजिक सञ्जालमा आफ्ना स्टाटस पोष्ट वा तस्वीर अपलोड गरिरहनुभएको छैन भने तपार्इंलाई मानसिक रोगी भएको गम्भीर आरोप पनि लाग्न सक्छ । हो, फेसबूक अहिले मानिसको जीवनमा यति महत्वपूर्ण पक्ष बनेको छ कि रोजगारदाता र मनोवैज्ञानिकहरुसमेत यसमा एकाउण्ट नबनाएकालाई मनस्थिति ठीक नभएको मान्छे हुन सक्ने बताउन थालेका छन् । जर्मन दैनिक पत्रिका डेर स्पिगेलले हालै एक अध्ययनपछि मानसिक विचलनका शिकार बनेका दुई कुख्यात हत्यारा यस्तै मानिस भएको बताएको हो ।
गतमहीना अमेरिकाको कोलोराडो शहर र सन् २०११ मा नर्वेमा ठूलो सङ्ख्यामा मानिसहरुको हत्या गर्ने जेम्स होल्मस् र आण्डर्स बेरिङ ब्रेभिक दुवैजनाले फेसबूक खाता नबनाएको पत्रिकाको भनाइ छ । त्यसैगरी फोब्र्स पत्रिकाको अनलाइन संस्करणले अमेरिकी कम्पनीका मानव संसाधन एकाइहरुले फेसबूकलगायतका सामाजिक सञ्जालको प्रयोग नगर्ने युवा कर्मचारीको अवस्थाप्रति चिन्ता प्रकट गर्न थालेको उल्लेख गरेको छ ।
यसका साथै, बेलायती पत्रिका डेली मेलले पनि बेलायती हाकिमहरुले कम्पनीमा भर्ना हुनेहरुको फेसबूक खाता राम्ररी अवलोकन गर्न थालेको रिपोर्ट प्रकाशित गरेको छ । उनीहरुले फेसबूक नचलाउनेहरु कि त असामाजिक भएका वा खातामा नचाहिँदा कुरा देखिने डरले बन्द गरेका मानिस हुन सक्ने धारणा बनाउने गरेको पत्रिकाको रिपोर्टमा उल्लेख छ । आधुनिक समाजमा फेसबूक खाता भएका मानिसहरुले मानसिक रुपमा स्वस्थ्य भएर सामाजिक सम्बन्ध निर्माण गर्न सक्ने धारणा राख्ने मनोविज्ञहरुको सङ्ख्या बढिरहेको पत्रिकाले बताएको छ ।
यसै परिप्रेक्ष्यमा ‘स्लेट डट कम’ नामक एक वेबसाइटका प्रविधि रिपोर्टर फरहाद मान्जोले युवायुवतीलाई फेसबूकमा नभएकाबाहेकसँग ‘डेटिङ’ नगर्न सल्लाह दिएका छन् । ‘यदि तपाईं युवा उमेरको हुनुहुन्छ र फेसबूक एकाउण्ट नभएका मानिससँग पे्रममा पर्दै हुनुहुन्छ भने उक्त व्यक्ति सहि नहुने सम्भावना धेरै छ,’ मान्जोले लेखेका छन् ।