भारतको उत्तर प्रदेश राज्यका एक मन्त्रीले सरकारी कर्मचारीहरुलाई काममा रहँदा केहीमात्रामा भ्रष्टाचार गर्न सक्ने सुझाव दिएपछि त्यसले देशभरि विरोध जन्माएको छ । ‘यदि आफ्नो काम कडा मेहनतका साथ हृदयदेखि नै गर्नुहुन्छ भने तपार्इंलाई केही परिमाणमा चोरी गर्ने छूट छ तर, डकैतीको शैलीमा सम्पत्तिको दुरूपयोग भने नगर्नुहोला,’ उत्तर प्रदेशका सामाजिक कार्य मन्त्री शिवपाल यादवले सरकारी कर्मचारीको एक भेलालाई सम्बोधन गर्दै भने । मन्त्री यावदको यस्तो भनाइ टेलिभिजन च्यानलहरुमार्फत प्रसारण भएपछि त्यसको भारतभरि तीव्र विरोध भयो ।
मन्त्रीजस्तो गरिमामय पदमा रहेका व्यक्तिको यस्तो गैरजिम्मेवार टिप्पणीप्रति आम भारतीयहरुले रोष प्रकट गर्न थालेपछि उनी संलग्न राज्यको सत्तारुढ समाजवादी दलले एक पत्रकार सम्मेलन आयोजना गर्यो । ‘राज्यका सरकारी कर्मचारीसँगको त्यो भेटघाटमा सञ्चारकर्मीलाई बोलाइएकै थिएन, ननिम्त्याइएको ठाउँमा आएर उनीहरुले मेरो भनाइको एक अशंलाई मात्रै प्रसारण गरे,’ पत्रकार सम्मेलनमा उपस्थित यादवले भने । आफ्नो टिप्पणी ‘भ्रष्टाचार नियन्त्रण गर्न केन्द्रित रहेको’ उनको दाबी थियो ।
शिवपाल यादव यो वर्षको शुरुमा राज्यका मुख्यमन्त्री बनेका अखिलेश यादवका काका हुन् । निर्वाचनताका शिवपाल र अखिलेश दुवैले उत्तर प्रदेशबाट भ्रष्टाचार निर्मूल गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मायावती नेतृत्वको राज्य सरकारलाई भ्रष्टाचारीहरुको गुट भएको पदवी थमाएर समाजवादी दल निर्वाचनमा विजय हासिल गर्न सफल बनेको थियो । विश्लेषकहरुले भने यो टिप्पणी प्रकरणपछि सरकारको भ्रष्टाचारविरोधी नीतिको असली स्वरुप उदाङ्गो भएको बताएका छन् ।