ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टप डाउन डेमोक्रेसी

Feb 10, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

नेपालको प्रजातन्त्र खतरामा पर्‍यो भनेर फेरि केही मानिसहरु दन्तबजान गर्न शुरु गरेका छन् । तर, नेपालको प्रजातन्त्र खतरामा परेको नभई यसको कोर्स परिवर्तन भएको मात्र हो । पहिले अर्थात् २०५० को दशक शुरु हुँदा नेपालको प्रजातन्त्रमा ‘बटम अप अप्रोच’, अर्थात् ‘तलबाट माथि उक्लने’ खालको थियो । तर, स्थानीय निकाय भङ्ग गरिएपछि नेपालको प्रजातन्त्र ‘टप डाउन डेमोक्रेसी’मा परिवर्तित भयो । समयसमयको कुरा मात्र हो ।

यसको मतलव नेपालमा डेमोक्रेसी नै सिद्धियो भन्ने चैं होइन । उदाहरणका लागि यो वर्ष सन् २०१७ मा मात्रै एउटा होइन, तीन÷तीनओटा चुनाव गर्ने भनिसकिएको छ । हामीले ८ वर्षमा नौओटा प्रधानमन्त्रीलाई देशको नेतृत्व गर्ने मौका टिइसकेका छौं । देशको राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता उच्च पदमा महिलाहरुलाई नियुक्त गरिएको छ । योभन्दा उम्दा प्रजातन्त्र खोज्न विश्वमा कहीँ गइरहन नपर्ला ।

अहिलेको समस्या केवल स्थानीय तहको चुनाव गर्ने कि स्थानीय निकायको पहिला भन्ने विवादले मात्र उत्पन्न भएको हो । ‘बटम अप डेमोक्रेसी’बाट ‘टप डाउन डेमोक्रेसी’मा बढुवा भएका कारणले समस्या आएजस्तो मात्र प्रतीत भएको हो ।

यो टप डाउन र बटम अप भन्ने कुरा विकास प्रयास, व्यवस्थापन, भोजभतेरलगायत धेरै विषयमा लागू हुन्छ । जस्तै, चाइनिजहरुसँग खानपिनमा बस्दा मदिराको गिलासलाई बेलाबेलामा ‘बटम अप’ गर्नुपर्ने हुन्छ । अर्थात् गिलासको तरल पदार्थलाई एकैचोटी रित्याउनुपर्ने हुन्छ, अहिले नेपाली बैङ्कहरुले लगानीयोग्य पूँजी सबै एकैचोटि सिध्याएजस्तै । तर, यो ‘टप डाउन’ मा जाने कि ‘बटम अप’मा भन्ने कुरामा भने बेलाबेलामा विवाद भइरहन्छ । जस्तै, एमाले ‘बटम अप’को पक्षमा छ, अर्थात् एकैचोटि तल्लो वा स्थानीय निकायको चुनाव गरेर सिध्याऊँ भन्छ । तर मधेशवादी दलहरु भने ‘टप डाउन’को पक्षमा छन् । अर्थात् माथिल्लो निकाय संसद्बाट संविधान संशोधन गरेर मात्र अघि बढौं भन्छन् । ढुलमूले काङ्ग्रेस पनि अहिले आएर ‘बटम अप’ कै पक्षमा देखिन थालेको छ । सत्ताधारी माओवादी भने ‘न यता न उता, मूलाबारी भित्ता’ को अवस्थामा छ ।

यस्ता कुराहरुमा विवाद हुनुको एउटा कारण यी सिद्धान्तहरुको उच्चारण र बुझाइमा फरक भएकाले पनि हुन सक्छ । जस्तै, ‘बटम अप’लाई चाइनिजहरु ‘कान पेई’ भन्छन् । अर्थात् गिलासलाई एकैचोटि रित्याऊँ भन्छन् । तर नेपालीमा यसैलाई कसैले ‘ग्याम्बे’ भन्छन् भने कतिपयले त ‘घ्याम्पे’ भन्छन् । अर्थात् बसेपछि घ्याम्पा नै लिएर बसौं भनेजस्तो । घ्याम्पालाई एकैचोटि रित्याउन गाह्रै पर्छ । यसरी घ्याम्पा नै अगाडि राखेर बसेपछि तरलताको समस्यै रहेन । चुनाव भयो भने त्यो जुनसुकै तहको होस् त्यसले दुवै अर्थमा (नगद र मदिरा) बजारमा तरलता सिञ्चित गर्दछ । किनभने चुनावले पैसाको नगद र मदिरा दुवै तरलतासम्बन्धी गण्डकी–कोशी–कर्णाली नै बगाइदिने गरेको इतिहास नै छ । यसो भएपछि बैङ्क, शेयर लगानीकर्ता सबैका आवश्यकता पूरा हुन्छन् । अहिले पनि मानिसहरु नेपाल सरकारको घ्याम्पे नीतिबाट कहिले तरलता प्रवाह होला र काम चलाऊँला भनेर बडो आशापूर्ण नजर लिएर बसेका छन् । बटम अप एप्रोच भएमा सरकारको घ्याम्पा कहिले फुट्ला भनेर आशामुखी भएर बस्नु पर्दैन । स्थानीय चुनाव भयो भने यसरी फाइदै फाइदा ।

तर, यो बटम अप सिद्धान्तका बेफाइदा पनि छन् । यसमा तेलको दियो बाल्दा जस्तो ‘क्यापिलरी एक्सन’ मार्फत तलबाट तरल पदार्थ माथि जानुपर्ने हुन्छ । चाहे त्यो विकास होस्, समृद्धि होस् वा कुनै पनि निर्णय सबै सबै तलबाट माथितिर जानुपर्ने हुन्छ । यो नीति नेपालका लागि त्यति हावापानी सुहाउँदो छैन । अमेरिकाजस्ता देशतिर मात्र यो बढी प्रभावकारी देखिन्छ । अमेरिकामा त राष्ट्रिय निकुञ्ज नै छन्, जहाँ जमिनमुनिबाट पानीको फोहोरा निरन्तर माथिमाथि गइरहेको पाइन्छ र त्यहाँको राजनीतिमा पनि त्यस्तै छ । तर, हाम्रोमा त्यस्तो हुँदैन । किनकि हावापानी फरक छ । हिमालमा हिउँ पग्लन्छ । अनि माथि पहाडबाट खोला तलतल बग्दै अन्ततः तराईतिर पुग्छ । अनि त्यहाँबाट सीमा कट्छ ।

यसरी, हाम्रोमा राजनीति, विकास, प्रजातन्त्र, समृद्धि, निर्णयहरु सबैसबै कुराहरुमा ‘टप डाउन’ अर्थात् माथिबाट तलतल जाने सिद्धान्तले मात्र काम गर्ने वातावरण छ । त्यसैले प्रजातन्त्र होस् वा समृद्धि, माथिमाथि बस्नेहरुसम्म बल्ल पुगेको छ । त्यसलाई तलसम्म चुहिन भने अलि समय लाग्ला । यसरी हाम्रोमा ‘टप डाउन’ सिद्धान्तले काम गरिरहेकाले संविधान होस् वा चुनाव, सबैभन्दा पहिले टपबाट गर्नुपर्छ अर्थात् पहिले राष्ट्रिय संसद्को, त्यसपछि प्रदेशको, अनि मात्र स्थानीय निकायको चुनाव गर्नु उचित देखिन्छ ।

यसो भन्दा मलाई मधेशवादीको तर्कसँग सहमत भएको भन्ने आरोप नलागोस् । यो त विशुद्ध व्यवस्थापकीय सिद्धान्तका आधारमा राजनीतिक विश्लेषण मात्र गरिएको हो । विश्लेषणहरु यस्तै हुन्छन् । तर, गर्ने त हाम्रा स्वनामधन्य नेताहरुले नै हो जो माथि टपमा हुनुहुन्छ । त्यसकारण यो स्वतः टप डाउन हुने नै भयो । किनकि नेपालका नेताहरु त सर्वज्ञ र सर्वशक्तिमान् जो हुनुहुन्छ । यो पङ्क्तिकारजस्ता अदना जनता जनार्दनहरुको विश्लेषणको त के अर्थ रहन्छ र ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)