देशभित्र जागीर नपाउने र पढाइका नाममा कमाइ गर्न खोज्ने नेपालीहरू वर्षौंदेखि विदेश गइरहेकै थिए । तर केही समययता पढेलेखेका, बैंकका उच्च तहमै काम गरिरहेका, सरकारी तथा निजीक्षेत्रमा राम्रै नाम, दाम भएकाहरू पनि धमाधम विदेश गैैरहेका खबरहरू आएको आयैै छन् । केही महीनाभित्रै सयौंको संख्यामा चार्टर्ड एकाउन्टेन्टहरू, जो नेपालमा राम्रै गरिरहेका थिए, समेत क्यानडा लगायतका देश पलायन भइराछन् बा !
यो देश बस्नै नहुने भएको हो त ? यो सिएरा लियोन या सिरिया भएको हो ? कि कंगोमा जस्तो काटाकाट मारामार भएको हो ? त्यस्तो भएको त केही पनि छैन । बरु भएको लडाइँ रोकिएको छ । अफगानिस्तानमा जस्तो तालिबानी शासनशैली पनि आएको होइन । तैपनि किन यो भागाभाग ?
मैले समाजका प्रतिष्ठित, बुद्धिजीवी, प्रहरी, नेता लगायतका मानिसहरूसँग भेटेर जान्ने प्रयास गरेँ ।
शुरूमा मैले एक ठूलै व्यवसायीलाई भेटेर सोधेँ, ‘हिजोआज तपाईंको धन्दा कस्तो चलिराछ ?’
उनले भने, ‘राजनीति र कर्मचारीतन्त्रले गरिखान दिएनन् । धेरै गाह्रो भो ।’
मैले फेरि सोधेँ, ‘हैन गत एक दुई दशकलाई फर्केर हेर्दा त तपाईंहरूले राम्रै प्रगति गरेको देख्छु त म । बिल्डिङहरू हेर्दा, शहरमा गुडेका गाडीहरू हेर्दा, तपाईंहरूको छनकभनक हेर्दा राम्रै देखिन्छ त ।’
व्यवसायीले अलि रिसाएजसरी मलाई भने, ‘अलि बिस्तारै बोल्नुस्, हाकिम र नेताले सुन्लान् । अरु देश कहाँ पुगे । हामी कहाँ छौं । गाडी कुदेको र बिल्डिङ उठेको देखेर मात्र हुन्छ ?’
मलाई लाग्यो, पक्कै केही समस्या त छ । अनि एकजना सरकारी हाकिमकहाँ सोध्न गएँ । ‘हैन हाकिमसाप, उद्योगी, व्यवसायीलाई किन दु:ख दिने गरेको ? खासमा तपाईंहरूको समस्या चैं के हो ?’
हाकिमले बडो गम्भीर हुँदै भने, ‘हेर्नुस्, पत्रकार बन्धु । उद्योगी, व्यवसायीले सम्पत्ति कमाउने । हामी चैं कलम मात्र घुमाउने ? फेरि हामी त जागीरे । नेता, मन्त्रीले जता जा भन्छन्, उतै गएर गर्ने न हो ? अनि काम कसरी गर्ने त ?’
मैले फेरि सोधेँ, ‘हैन तपाईंलाई देश दुख्दैन ?
हाकिमले भने, ‘देश नि दुख्छ कतै ? बरु अरु विभागका साथीहरू काजमा वा विदेश गइरहँदा आफूहरू जान नपाउँदा भने हाम्रो मन चैं दुख्छ । फेरि हाम्रो काम व्यवसायीका कुरा सुन्ने होइन, ‘जसो जसो मन्त्री, उसै उसै स्वाहा न हो ।’
मैले न्याय र सुशासनका लागि काम गर्ने एक प्रहरी अधिकृत सम्झेँ । अनि दौडिएँ भेट्न । सोधेँ, ‘तपाईंको दृष्टिमा यो समय राष्ट्रको प्रमुख समस्या के हो जस्तो लाग्छ ?’
पुलिस अफिसरले भने, ‘यो राष्ट्रको प्रमुख समस्या नै ‘ल एन्ड अर्डर’ हो । अर्थात् कानून व्यवस्था । देशभरि भन्सार छली भैराछ । भ्रष्टाचार भइराछ । कर्मचारीले काम नगर्ने, अनि दोष चाहिँ प्रहरीलाई दिन्छन् ।’
मैले सोधेँ, ‘केही हत्या, बलात्कार र भ्रष्टाचार त प्रहरीहरूबाट पनि भैराछ भन्छन् नि त !’
उनले भने, ‘हजुर, सारा दिन खोजबिन गर्दैमा बित्छ । हामीलाई एक मिनेट त समय हुन्न, तपाईं हत्या र बलात्कारको कुरा गर्नुहुन्छ । म त भन्छु कि ती प्रहरीहरू भाग्यमानी हुन्, जो यस्तो व्यस्त जिन्दगी हुँदा हुँदै पनि अपराध कर्म गर्न समय पाउँछन् । यसमा कुनै शंका छैन कि देशमा अपराध धेरै बढ्या छ । तर प्रहरीले के मात्रै गर्ने ? एयरपोर्टमा सुन समात्न जाने कि हप्ता उठाउने, बैंक लुट्न सहयोग जुराउने कि चोरी मिलाउन हिँड्ने ? अपराध बढेको छ भन्नुको मतलब अपराधी पनि बढेका छन् । तर प्रहरीहरू त बढेका छैनन् । किनकि दरबन्दी बढेको छैन । अनि प्रहरी कुन कुन अपराधमा मात्रै जान भ्याउँछन् त ?’
‘त्यत्ति नै कारण हो त अपराध रोक्न प्रहरी चुकेको, अपराधीलाई नसमातेको ?’
उनले भने, ‘हेर्नुस्, आठ दिशा छन् । अपराधी कुनै पनि दिशामा भाग्न सक्छन् । यदि आठै दिशामा अपराधीलाई खोज्न र समात्न पठाउने हो भने त हरेक दिशामा कम्तीमा दुई दुई प्रहरी त खटाउनै पर्यो । भनेको एउटा अपराधी समात्न कम्तीमा १६ प्रहरी चाहियो । अझ बिच्च बिच्चमा केही प्रहरी भागे पनि थप अरू चाहिए । फेरि नेता, पूर्व नेता, मन्त्री, भूतमन्त्री आदिका सुरक्षार्थ खटाउन पनि प्रहरी नै चाहिए । शान्ति सेनादेखि जुलुस, र्यालीमा गोली हान्न पनि प्रहरी नै पठाउनै पर्यो । अनि कहाँबाट ल्याउने त्यत्तिका प्रहरी ?
मलाई चित्त बुझेन । अनि यसो सोचेँ, पुलिसका ठूला हाकिम त गृहमन्त्री हुन् । कतै तिनीबाट पो सही जवाफ पाइन्छ कि ? अनि दौडिएँ मन्त्री क्वार्टरतिर ।
सोधेँ, ‘मन्त्रीजी देशमा दिनदहाडै हत्या, हिंसा, बलात्कार, तस्करी भैराछ । तर ‘ल एन्ड अर्डर’ किन यति सुस्त ?’
गृहमन्त्रीले भने, ‘ल कहाँ सुस्त हुनु ? बरु चुस्त, दुरुस्त नै छ त ।’
मैले फेरि सोधेँ, ‘अर्डर’ चैं चुस्त, तर ‘ल’ भने सुस्त हो ?’
मन्त्रीले भने, ‘मैले भनेँ नि यो सबै एकमुष्ट बुझ्नुस् न तपाईं ।’
मैले फेरि सोधेँ, ‘मन्त्रालयहरूमा हिजोआज केही कामै हुन्न । किन होला ?’
मन्त्रीले भने, ‘खै यी कर्मचारीहरूले कामै गर्दैनन्, टेर्दै टेर्दैनन्, के गर्नु ?’
मन्त्रीजीको कुरा झन् चित्त नबुझेपछि म एक ठूलै नेतालाई भेट्न गएँ र सोधेँ, ‘नेताजी ल भन्नुस् त देशको अहिलेको सबैभन्दा ठूलो समस्या के हो ?’
नेताले भने, ‘हेर्नुस्, सबैभन्दा ठूलो समस्या त एकपटक जहाँबाट चुनाव जितेको हो, फेरि त्यंैबाट जित्नु छ । चुनाव नजिते राजनीति सकिन्छ । अनि चुनाव जित्न सबै थोक नगरी हुँदैन । यहाँका जनता नै खराब छन् । मेरो छोरालाई जागीर दे भन्छन् । ठेक्का मिलाइदे भन्छन् । अब सबै कुरा मिलाउन थालेपछि त केही न केही बिग्रिहाल्छ नि !’
मैले भने, ‘म एउटा पत्रकार र बुद्धिजीवीको नाताले देशको समस्या हल गर्नका लागि तपाईंलाई के मद्दत गर्न सक्छु त ?’
नेताले भने, ‘यसो मेरो कुरा अझ राम्रोसँग मिलाएर छापिदिनुस् । तपाईं बुद्धिजीवीका नाताले त हैन, तर गुण्डा बदमासका नाताले भने तपाईं मेरो मद्दत पक्कै गर्न सक्नुहुन्छ ।’
मैले भने, ‘गुण्डा बदमास हुनका लागि त मैले फेरि नयाँ जन्म लिएर आउनुपर्यो हैन ?’
नेताले भने, ‘त्यसोभए त्यै बेला आउनुस् न त । लोकतन्त्र त अमर छँदै छ । चुनाव त भइनै रहन्छन् । के भो र ? फेरि पछि आउनुस् न त ।’
म अवाक् भएर त्यहाँबाट फर्किएँ । मैले त देशको समस्या ठम्याउनै सकिनँ भन्या । तपाईंले ठम्याउनु भा त छ ? भए मलाई पनि भन्नुस् है !