ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उठ्नोस्, भ्रष्टाचार गर्नोस्

२०८० पुस, ६  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

नेपालमा भ्रष्टाचारले संस्थागत रूप धारण गरिसक्या छ । लाखौं प्रयास गर्दा पनि नेपालमा भ्रष्टाचार कम हुनुको साटो झन् बढिरहेको छ, हरेक वर्ष नयाँ नयाँ सिढीहरू चढिरहेको छ । भ्रष्टाचारको रोग यसरी बढ्दै गइरहेको छ कि यो रोगबाट अब कोही पनि शायद अछूतो नहोला ।

देशकोे सबभन्दा सानो एकाइ वडादेखि प्रधानमन्त्री कार्यालयसम्म, पियनदेखि बडाहाकिमसम्म सबै भ्रष्टाचारको पन्जामा परेका छन् । विनाघूस आज सरकारी फाइल अगाडि बढ्नै सक्दैनन् । अपवादलाई छाडेर आज सर्वत्र भ्रष्टाचारको बोलवाला देखिन्छ । यसरी देशकै एउटा अभिन्न अंग बनिसकेको अवस्थामा भ्रष्टाचारलाई कसैले गलत भन्छ भने ऊ भ्रममा छ । किनकि भ्रष्टाचार त अजर अमर पो छ त ।

तर हिजोआज एकथरी मनिसहरू आन्दोलित हुन थालेका छन् सरकार र भ्रष्टाचारका विरुद्धमा, सरकार पनि बदल्ने र भ्रष्टाचार पनि समाप्त पार्ने भन्दै कोही सामाजिक अ–सामाजिक सञ्जालमा त कोही टिभीमा, कोही सडकमा त कोही होटल, रिसोर्टमा बसेर भ्रष्टाचारविरुद्ध आगो ओकलिरहेका छन् । तर सरकार भन्ने जन्तु रहेसम्म भ्रष्टाचार रहन्छ र भ्रष्टाचार रहेसम्म सरकार रहन्छ भन्ने तिनले नबुझेजस्तो छ ।

मलाई यी अबुझ आन्दोलनकारीहरूको अज्ञानप्रति दया लागेर आउँछ भन्या ! एक्काइसौं शताब्दीको नेपालमा भ्रष्टाचार नै असली शिष्टाचार हो भनेर किन नबुझेको होला ? यसको अभावमा न दल, न नेता, न सरकार न समाज नै चल्न सक्छ । मन्दिर र पूजामा समेत भ्रष्टाचार हुन्छ । अब देउताले त रोक्न नसकेको भ्रष्टाचार देउवाले किन र कसरी रोक्ने ? त्यही भएर देख्नुभएन पार्टीका कार्यक्रममा भ्रष्टाचारविरोधी नारा भएको ब्यानर राख्न नदिएको ? वास्तवमा भ्रष्टाचार कुनै भौतिक चीज नभई एक आध्यात्मिक र आत्मिक तत्त्व पो हो, जसको अभावमा कसैले पनि शान्ति प्राप्त गर्न सक्दैन ।

अनि तपाईंले गाली गर्दैमा भ्रष्टाचार समाप्त हुन्छ र ? त्यो त आफूले नपाएर गाली गरेको त हो नि, पाए बाँकी राख्नुहोला र ? वास्तवमा भ्रष्टाचारको एक हिस्सा तपाईं पनि र म पनि हो । हामीले कसैलाई चुनेर सांसद बनाउँदैमा हाम्रो जिम्मेवारी त्यहीँ सिद्धिन्छ र ? सिद्धिँदैन नि । तर हामी सांसद मन्त्रीलाई गाली गरेर जिम्मेवारी पूरा भयो भन्ठान्छौं । त्यसैले, हामीले भ्रष्टाचारको विरोध गर्नै हुन्न । विरोध गर्ने भए पहिले आफूलाई हेर्नुस् ।

जस्तै, सडकमा ट्राफिक पुलिस छैन भने तपाईं लेन मिचेर अगाडि बढ्नुहुन्छ नै । सरकारी अफिसमा जाँदा काम छिटो गराउन कर्मचारीलाई २/४ हजार अतिरिक्त पैसा तिर्न अघि सर्नुहुन्छ । आफ्नो काम बनाउन नेताकहाँ नगद र अनेक उपहार बोकेर जानुहुन्छ । जब कर चुक्ता गर्ने समय आउँछ, तपाईं अडिटर वा सिएलाई भनेर कहाँ कसरी कर नतिर्न सकिन्छ भनेर छिद्र खोज्नुहुन्छ । तपाईं घर वा फ्याक्ट्रीको बिजुलीको मिटरमा तार फसाएर मिटर ढिलो चलाउने तिगडम गर्नुहुन्छ । आफूलाई फाइदा हुन्छ भने नैतिक अनैतिक सबै उपाय अपनाउन खोज्नुहुन्छ । अनि भ्रष्टाचारको विरोध गर्ने नैतिकता तपाईं हामीसँग हुन्छ र ? 

यदि हामी पौने तीन करोड नेपालीले आआफ्नो ठाउँमा बसेर भ्रष्ट आचरण नगर्ने हो भने, कतै पनि भ्रष्टाचार हुनै सक्दैन । तर के त्यसका लागि तपाईं, हामी तयार छौं र ? 

जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण ।

वास्तवमा भ्रष्टाचार मात्र यस्तो तत्त्व हो, जहाँ कहीँ कतै भेद रहँदैन । भ्रष्टाचारमा आफ्नो परार्ईको कुरा छाडौं, स्वयम् आफ्नै पनि होश रहँदैन । भ्रष्ट आचरणको परम अवस्थामा यति भेद पनि रहँदैन कि को बाउ हो को छोरा हो ।

भ्रष्ट अधिपतिको मन्दिरमा को म र को तँ ? वास्तवमा भ्रष्टाचारको तल्लीनतामा त भक्त भगवान् हुन्छ, भगवान् भक्त बन्छ । भ्रष्टाचारको तत्परतामा न कोही पुजारी हुन्छ, न कोही पूज्य हुन्छ । त्यहाँ केबल परम अनीति बाँकी रहन्छ । त्यहाँ त अन्यायको नाद बजिरहन्छ । त्यहाँ केवल द्रव्य अर्थात् डलर, रुपैयाँ आदि नै परम संगीत हुन्छ । बडो अलौकिक घडी पो हुन्छ त । जसरी घोर अँध्यारोमा चन्द्रमाको ज्योतिले बडो मनमोहक उज्यालो छरिरहन्छ, त्यसैगरी यो अपूर्व महासुखको क्षणमा नै सम्पूर्ण कष्टहरूको हरण गरिदिन्छ । त्यसैले, भ्रष्टाचारको यस्तो चन्द्रमणिलाई त बरु प्राणप्रणबाट रक्षा गर्नुपर्दछ । कार्यालयरूपी मन्दिरमा त झन् यसको प्राणप्रतिष्ठा एकदमै जरुरी हुन्छ । समस्त गर्भगृहदेखि लिएर कार्यालयरूपी मन्दिरको गजुर परिक्रमा स्थलसम्म भ्रष्ट आचरणको झण्डालाई साहसपूर्वक फहराइरहनु पर्दछ ।

त्यसैले म भन्छु, तपाईं भ्रष्टाचार विरोधी यी राजा हरिशचन्द्रका सन्तानहरूका कुरा नसुन्नुहोला । किनकि उनीहरू भन्छन् कि जन्मौंजन्मको कर्मबाट मात्र मीठो फल प्राप्त गर्न सकिन्छ । त्यसका लागि सत्मार्गमा चल्नुपर्छ, नीतिवान् बन्नुपर्छ, आदि आदि । तर त्यसो गरेर त यो एकबारको जुनीमा फल प्राप्त गर्न धेरै कठिन पो देखिन्छ त हौ ! जन्मौंजन्म लाग्न सक्छ । यसरी चाँडै फल लाग्नेवाला त छैन । अनि घर घडेरी कसरी जोड्ने ? सरर कार कहिले गुडाउने ? एउटा जीवन यत्तिकै सडाउने ? अहँ हुन्न ! 

म त भन्छु– साहस गर्नोस् घूसामृत पाउनका लागि । त्यो नगदमै हुनुपर्छ भन्ने छैन । त्यो कसैको शरीरको रूपमा हुन सक्छ, कारको रूपमा हुन सक्छ वा कोठीको रूपमा पनि । कुनै व्यापार व्यवसायको हिस्सा हुन सक्छ वा विदेश शयर । कुनै जमीनको टुक्रा तपाईंको नाममा दर्ता हुन सक्छ । कुनै सरकारी ठेक्का पनि पाउन सकिन्छ । यी सबै कुरा भक्षणयोग्य छन् । यो महान् कार्यमा अभक्ष्य र अपाच्य केही पनि छैन ।

यदि भ्रष्टाचारको शिष्टाचार अपनाउनुभो भने एक क्षणमै जीवन प्रकाशमय हुने घटना सम्पन्न हुन सक्छ, एक पलमै । जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण । त्यहाँ त अलौकिक महासुख मात्र छ ।

तपाईं यो जडसूत्रवादी नीति, धर्म, सत्य आदिका चक्करमा आफूलाई अघि बढ्नबाट नरोक्नुहोस् । भ्रष्टाचार आधुनिक मानिसको आवश्यकता हो । अभीप्सा हो, हिम्मत हो, रस हो, तागत हो, प्रेम हो । आफ्नो जीवनलाई यो भ्रष्टाचारको आन्दोलनमा समाहित गरिहाल्नोस् । छिटो गर्नोस् । आउनहोस्, उठ्नुहोस्, भ्रष्टाचारको बाटोमा अघि अघि

बढ्नुहोस् । यसैमा त छ सबैको सफलता र सबैको कल्याण पनि । ‘सबै धर्म त्यागेर मेरो शरणमा आऊ’ भनेर धर्मशास्त्रमै लेखिएको छ । त्यस्तै, नेपाली राजनीतिशास्त्रमा भने सबै आचरणको परित्याग गरेर भ्रष्टाचरणको शरणमा आऊ भन्ने छ । यत्ति कुरा चैं बुझ्नुस् है ! 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)