ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लोन लिनोस् लोन

२०८० मंसिर, २९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

हिजो आज बैंक तथा वित्तीय संस्थाहरूले मिस्री मिसाएको स्वरमा भन्न थालेका छन्– आउनुस् आण्टी, आउनुुस् अंकल, आउनुस् दाइ, आउनुस् विद्यार्थी भाइ, आउनुस् बुबा, आउनुस् साहुजी । हामी कहाँ आएर ऋण लिनोस् । जागिरे हो भने आम्दानीको प्रमाण अर्थात् ‘स्यालरीको सर्टिफिकेट’ लिएर आउनुस् । उद्योगी व्यापारी हो भने आयकर तिरेको प्रमाणपत्र लिएर आउनुुस् । गृहिणी हो भने पतिदेवको मायाले तपाईंको नाममा किनेको घर वा जग्गाको कागजात लिएर आउनुुस् । ए दाजै, जे जे लिएर आए पनि आउनुस्, तर ऋण चैं लिएर जानोस् है । ऋण तिर्ने चिन्ता किन गर्नुहुन्छ ? त्यो त हामी पछि असुल गरिनै हाल्छौं नि, ब्याज र स्याजसहित । आखिर धन्दाको कुरो जो छ ।

 

जसरी अमृत मन्थनपछि विष्णुले मोहिनी रूप धारण गरेर असुरहरूलाई मोहित पार्न सफल भएका थिए, त्यसैगरी अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि कहिले ‘सपनाको घर’, त कहिले ‘विद्युतीय कार सरर’ भनेर ग्राहकहरूलाई आफूतिर तान्ने प्रयासमा छन् । सामान्य व्यक्ति जो मुश्किलसँग एउटा स्कुटर किन्ने हैसियतमा पुगेका छैनन्, तिनलाई उनीहरूको आफ्नै बंगलाको सपनालाई विपनामा बदलिदिने आश ऋणदाताहरूले दिने नै भए, लिने नलिने त आफ्नो कुरो हो । फेरि एकातिर आवश्यकता छ, अर्कोतिर समाजका अगाडि इज्जतको सवाल पनि जो छ ।

तपाईं भन्नुहोला हैन, यी बैंकहरूलाई के भएको हो हँ ? विगत केही अघिसम्म त ऋण पाउन बैंकहरूको चक्कर लाउँदा लाउँदा जुत्ता नै खिइन्थ्यो । तर अहिले अचानक हामी गरीबहरूमाथि यी बैंकहरूको यत्रो कृपादृष्टि कसरी पर्न गयो हँ भनेर ।

जसरी अमृत मन्थनपछि विष्णुले मोहिनी रूप धारण गरेर असुरहरूलाई मोहित पार्न सफल भएका थिए, त्यसैगरी अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि कहिले ‘सपनाको घर’, त कहिले ‘विद्युतीय कार सरर’ भनेर ग्राहकहरूलाई आफूतिर तान्ने प्रयासमा छन् ।

हेर्नुुस्, अर्थशास्त्रको यो सामान्य नियम हो कि बजारमा जुन कुराको अभाव हुन्छ, त्यो कुराको भाउ बढ्छ । त्यसैगरी जुन कुराको आपूर्ति बढी हुन्छ, त्यसको भाउ घट्छ । विगतमा बैंकहरूसँग लगानीयोग्य पूँजी अर्थात् ऋण दिन मिल्ने रकम कम थियो । अहिले देशमा आर्थिक सुस्ती चलिरहेको छ । यस्तोमा मानिसहरूले ऋण लिएर उद्योग व्यापार गर्न डराइरहेका छन् । अनि बैंकमा पैसा थुप्रिँदै गएको छ । त्यसैले बैंकले पनि तपाईंहरूलाई नरम र मिस्री मिस्रित स्वरमा ऋण लिनुस् र आफ्नो व्यापार व्यवसाय बढाउनुहोस्, पैसा कमाउनुहोस्, अनि अलि अलि हामीलाई पनि दिनुस् भनिराछन् । बजार अर्थतन्त्र भनैको यै त हो । यसमा खराबी के नै छ र ? 

हो, एकाथरीलाई लाग्छ विश्व बैंकको लहैलहैमा कांग्रेस सरकारले उडाएको उदारीकरणको बेलुनसँगै देशका मानिसहरूको महत्त्वाकांक्षा पनि उड्न थालेको छ । घर, कार, टिभी, फ्रिज, मोटरसाइकल, मोबाइल, वासिङ मेसिन, कम्प्युटर... के के हो, के के । मानिसहरूको महत्त्वाकांक्षासँगै बैंक तथा वित्तीय संस्थाहरूको संख्या पनि अस्वाभाविक रूपमा बढ्न थाल्यो । अहिले बैंकलाई पनि चल्नु छ, आफ्नो कमाउने लक्ष्य पूरा गर्नु छ । त्यो लक्ष्य पूरा गर्दिने भनेको तपाईं हामीजस्तै ग्राहकले नै हो । अर्थात् बैंकका लागि ग्राहक भनेका हरेक महीनामा सुनको फुल दिने कुखुरी हुन् । भनेसी यसरी सुन दिने कुखुरीलाई माया नगरे, तिनीहरूसँग मिस्री मिसाएर नबोले कोसँग बोल्ने त हो ? एक्काइसौं शताब्दीको आधुनिक नागरिक भएर पनि यत्ति कुरा नबुझ्ने अनि बैंकलाई गाली गरेर बस्ने ? अब विदेशमा जस्तो तपाईंको कमाइ मात्र हेरेर लोन दिएनन् भनेर गनगन चाहिँ नगर्नुस् है । किनकि तपाईं कति बेला फुत्त विदेश उड्नुहुन्छ कि खरानी धसेर जंगल पस्नुहुन्छ, पत्तै हुन्न । अनि बैंकले तपाईंका घरजग्गामा आँखा नलगाई भो त ?

त्यसैले लिनोस् ऋण र जिन्दगीको गाडी किस्ताको सडकमा कुदाउन थाल्नोस् । घर, कार, जग्गा, शेयर, के के सपना छन्, देख्न थाल्नुस् । सपना देख्न पाउनु तपाईंको नैसर्गिक अधिकार हो । तपाईंको सपनालाई विपनामा बदलिदिने काम बैंकको हो । पुर्खाले ‘यावत् जिवेत्, सुखम् जिवेत्, ऋणं कृत्वा, घृतम् पिबेत्’ अर्थात् ‘सुखसँग बाँच्नुस्, ऋण लिएर भए पनि घिउ पिउनुस्’ भनेर भनेकै छन् क्यार ! तर ऋण लिनुअघि यो कुरामा चैं विशेष ध्यान दिनुहोला नि । ‘घाँटी हेरेर मात्र हाड निल्नुहोला’ । अर्थात् तपाईंको सपनाको गाडीको गति तपाईंले नियन्त्रण गर्न सक्ने हदसम्म मात्र सीमित हुनुपर्छ है ! भनाइको मतलव लोन भनेको लैनो गाई होे, जसले दुहुन जान्योे, उसले आफ्नो दुनो सोझ्यायो । जानेन भने लोन थारो गाई हो, यसलाई पालिरहन मात्र पर्छ नि । बुझ्नु भो ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)