ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देश बिपीको बाटोमै हिँडिराछ

२०८० पुस, १३  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

वि.सं. २०४७ सालको परिवर्तनपछि जो जो सत्ताको बागडोर सम्हाल्न पुगे, उनीहरूले धेरै ठाउँमा सडकका, नगरका, अस्पतालका, प्रतिष्ठानका नामहरू धमाधम आफ्नो नाममा वा आफ्ना पुराना नेताका नाममा परिवर्तन गरिदिए । जस्तै, बिपी राजमार्ग, मदन भण्डारी लोकमार्ग, पुष्पलाल मार्ग, गणेशमान मार्ग, जेपी प्रतिष्ठान, आदि आदि । यसो गरेपछि अब कसैले देशमा सरकार र राजनीतिक दलहरू बिपी वा मदन भण्डारीको मार्गमा चलेन भन्न पाएनन् । बरु नेताहरूलाई आफ्नो भाषणमा यो भन्न सजिलो भयो कि देश वास्तवमै पुराना नेताहरूका मार्गमै चलिरहेको छ भनेर । अझ तपाईंलाई तथ्यांकसहित बोल्नुपर्ने स्थिति आयो भने देशभरिका सडकका लम्बाइ नापेर भन्न सक्नुहुन्छ कि, हाम्रो देश फलाना फलाना नेताका मार्गमा प्रत्येक दिन यति यति किलोमिटर हिँडिरहेको छ भनेर ।

सडक मात्र किन ? अस्पताल पनि थुप्रै नेताका नाममा खुलेकै छन् । बिपी अस्पताल, मनमोहन अस्पताल, गणेशमान अस्पताल, महेन्द्र नारायण निधि अस्पताल । अरू पनि खुल्दै जालान् ।

त्यसो त देश शहीदका मार्गमा पनि हिँडिनै रहेको छ । दशरथ मार्ग, धर्मपथ, शुक्रमार्ग । यसरी देश सबै पथमा हुइँकिराछ । पथ भन्नुस्, वाद भन्नुस्, बाटो भन्नुस्, सडक भन्नुस् वा मार्ग, सबै एउटै कुरा न हुन् । तर तपाईंले अहिलेका नेताले पहिलाका नेताको बाटोमा हिँडेनन्, बाटो बिराए भनेर भन्न चैं मिल्दैन । किनकि, देशभरि नेताहरूकै नामको पथ भएपछि र त्यही पथ भएर सबै हिँडेपछि कुरा सिद्धिएन र भन्या ?

त्यसैले बरु सरकारले यसो गर्नु उचित हुन्छ कि अरू कुनै नाम भएका देशभरिका सडकका नाम जति सबै कुनै न कुनै नेतामा नाममा परिवर्तन गरी हाल्ने, जस्तै– प्रचण्ड पथ, देउवा मार्ग, माकुने गल्ली, झलनाथ वा झल्लु सडक आदि । यसो गरेसी हामी दुनियाँलाई गर्वका साथ यो भन्न सक्छौं कि नेपाली जनता मात्र होइन, हाम्रो ट्रक, बस, मोटरसाइकलसम्म बिपी वा सिपी पथमा यति लामो यात्रामा यसरी यसरी हिँडिरहेको छ भनेर ।

तपाईं कुनै पनि दलको कमसेकम केन्द्रीय कार्यालयसम्म जानुभयो भने तपाईंले देख्नुहुनेछ कि पुराना खाशगरी ती दलका संस्थापक नेताहरूका ‘अमर वाणी’ भित्तामा झुन्ड्याइएको हुन्छ । त्यसैले तपाईं सप्रमाण भन्न सक्नुहुन्छ कि ठूला नेताले देखाएको बाटोमा हाम्रो देश हिँडे पनि नहिँडे पनि उभिएको भने पक्कै छ ।

बिपी भन्नुहुन्थ्यो रे, ‘म चाहन्छु, प्रत्येक नेपालीको छाप्रो नै सही, एउटा घर होस् र एउटा दूध दिने गाई होस् ।’ बिपीको त्यो सपना धेरै पहिल्यै पूरा भइसकेको छ । किनकि आज प्रत्येक नेपालीका आफ्नै छाप्राछाप्री छन्, चाहे ती खोला वा नदीका किनारमा हुन्, पहाडहरूमा हुन् वा तराईमा । भलै बिपीले भनेको गाई भने धेरै छैनन् । तर प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक भारत भ्रमणमा जाँदा भारत सरकारसँग विशेष अनुरोध गरेर मागेका मुर्रा राँगा नेपाल भित्रिइसकेका छन् । अब भने गाईहरू पनि पक्कै भित्रिने नै छन् । उत्तरका बादशाहले १० हजार गाई दिने कुरा चाहिँ दक्षिणका बडाकाजीले मुर्रा राँगा दिएपछि अहिलेलाई त्यसै सेलाएको छ । तर केही छैन, पहाड र तराईका आआफ्ना छाप्रा खाली गरेर अष्ट्रेलिया, अमेरिका र न्युजिल्याण्ड आदि देश पुगेका नेपालीहरूले पक्कै पनि गाई नेपाल पठाउलान् । यसरी देश चल्न त नेताहरूले भनेकै मार्गमा नै त चलिरहेको छ !

त्यस्तै, बिपीले यसो पनि भन्नुहुन्थ्यो रे, ‘एकैचोटि धेरै नखाऊ । यसले शरीर र आत्मालाई हानि गर्छ ।’ यो कुरा पनि नेपालका प्राय: नेताले अक्षरश: पालना गर्दै आएका छन् । त्यसैले उनीहरू एकैचोटि वा सबैजनाले एकै समयमा त कहिल्यै खाँदैनन् । चन्दा होस्, घुस होस् वा कमिसन । यी कुराहरू उनीहरूले विस्तारै विस्तारै र एकदमै प्रेमपूर्ण तरीकाले, एक आपसमा समय आदि तारतम्य मिलाएरै मात्र खान्छन् । यसबाट उनीहरूलाई हानि पनि गर्दैन र यसबाट उनीहरूलाई कुनै कष्ट पनि हुँदैन । सत्ता होस् या भत्ता आलोपालो गर्ने सहमति पनि बिपीकै ‘एकैचोटि धेरै नाखाऊ पथ’को निरन्तरता हो नि । पुकदापछि माकुने, अनि शेबदे बडाकाजी हुने सहमति छ क्यारे । यति भएपछि बिपी पथ ठ्याम्मै लागू भएन त ? 

पुराना आदर्शवादी नेताहरूले भन्ने गर्दथे कि ‘राजनीति पेशा होइन, सामाजिक सेवा हुनुपर्छ । पेशा भयो भने लोभ बढ्छ ।’ त्यसैले त हिजोआजका नेताहरू लोभ, लालच, काम आदिबाट बच्न हरेक कुरामा एउटा आयोग बनाइदिइहाल्छन् । आयोगले पनि छानबिन, अध्ययन आदि पछि एउटा रिपोर्ट तयार गरेर राख्छ, जसलाई कि त आयोगले नै, कि नेताले अन्तमा गायब पार्दिन्छन् । यसरी पापकर्म जति सबै आयोगले अर्थात् आयोगका सदस्यका खातामा जान्छ । तर नेताहरू भने चोखै निक्लन्छन् ।

यसरी देश जता, जुन दिशामा गए पनि यत्ति चाहिँ भन्न सकिन्छ कि, देश पुराना र संस्थापक आदर्श नेताहरूका मार्गमै हिँडिरहेको छ भनेर । यो देशमा खासगरी नयाँ पुस्ताका नेताहरूले पुराना नेताहरूलाई देख्न वा भेट्न नपाएका भए पनि उनीहरूले पुराना नेताका फोटो भने अवश्य देखेका छन् । पुराना नेताहरूका जन्मदिन वा मृत्यु दिवसमा विशेष कार्यक्रम पनि हुने गरेका छन् । पुराना नेताहरूले भनेका कुरा अहिलेका नेताहरूले नपढे पनि पक्कै सुनेका चैं छन् । त्यत्ति भए पुगिहाल्छ नि । 

त्यसैले त अहिलेका नेताले पनि बेलाबेलामा उहिलेका नेताले झैं पहिरनमा सजिने, उनीहरूले बोलेका कुराहरू आफ्ना भाषणमा दोहोर्‍याउने गर्दछन् । यत्ति गरे पछि त भैगो त ! यसरी देश त पुष्पलाल, मदन भण्डारी अझ बिपी मार्गमा मज्जाले हिँडिरहेकै छ त । यसमा कुनै शंका छ र ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)