हरेक वर्ष हामीले आफूले कमाएको रकमबापत राज्यलाई कर तिर्छौं । त्यस्तैगरी आफ्ना नाममा रहेको घरजग्गाको कर पनि बुझाइरहेका हुन्छौं । हामीले किन्न थालेको हरेक वस्तुमा समेत निश्चित कर समावेश भएको हुन्छ । मठ मन्दिरहरुले भने सरकारलाई कुनै कर बुझाउनु पर्दैन । तर, भारतमा भने विभिन्न देवीदेवताको मन्दिरलाई सम्पत्ति कर बुझाउने आदेश जारी भएको छ । हरियाणाको फतेहावाद नगरपरिषद्ले मन्दिरलाई सम्पत्ति कर बुझाउन सूचना पठाइएको छ । सबैभन्दा रमाइलो कुरा चाहिँ के छ भने सो सूचना देवीदेवताको नाम र तिनको निवास स्थान अर्थात् मन्दिरका नाममा जारी भएको छ । नगर परिषद्को यस कार्यको चर्चा शहरभरि चुलिएको छ । योभन्दा पनि रमाइलो कुरा त सो सूचनामा मन्दिरलाई लाखौं रूपया कर बुझाउन आदेश दिइएको छ ।
नगरपषिद्ले सन्न्यास आश्रम मन्दिरलाई २ लाख ७७ हजार रूपयाको सम्पत्ति कर बिल पठाएको छ । दुर्गा माताको मन्दिरलाई १ लाख १० हजार रूपया कर तिर्न नोटिस पठाइएको छ । योगगुरू बाबा रामदेवको मन्दिरलाई समेत करीब १५ हजार रूपया कर तिर्न आदेश दिइएको छ । यसबाहेक पनि श्मशान स्थलबाट समेत सरकारले कर मागेको छ । एजेन्सी