बीपी कोइरालाको नाममा बनेको सिन्धुली–बर्दिबास जाने बीपी राजमार्ग भास्सियो । अहिले ‘डाइभर्सन’बाट काम चलाइएको छ । बीपी र जीपी कोइराला बितेको यतिका वर्षपछि बल्ल बिग्रियो । बाटो त बलियै बनाइदिएका रहेछन् जापानीहरुले । ‘राजा महेन्द्र र मेरो घाँटी जोडिएको छ’ भन्थे बीपी । तर, जोडिएको रहेनछ । नत्र महेन्द्र राजमार्ग पनि धस्सिनुपर्ने हो । अहिलेसम्म पनि महेन्द्रका सबै पथ ठीकै छन् । त्यसो त उतिबेलादेखि अहिलेसम्म नेता तथा विभूतिहरुका नाममा बनेका प्रायः सडक या पथका हालत त्यत्ति ठीक छैनन् । बुटवलबाट पाल्पा जाने सिद्धार्थ गौतम बुद्धको नाममा बनेको सिद्धार्थ राजमार्ग होस् वा भक्ति थापा, धर्मभक्त, गङ्गालाल, दशरथ चन्द आदि राष्ट्रिय विभूतिका नाममा समर्पित प्रायः सबै रोड अहिले बिजोगकै स्थितिमा छन् ।
त्यस्तै, नेताहरुका नाममा बनेका पनि प्रायः सडकहरुको अवस्था दयनीय छ । उदाहरणका लागि बीपीपछि बनेको पुष्पलाल राजमार्ग जुन पहाडी राजमार्ग पनि हो, बन्दाबन्दै ठाउँठाउँमा भत्किइसकेको छ । नौबीसेबाट हेटौंडा जाने बाटोमा कता हो मदन भण्डारी र गणेशमान सिंहका नाममा छोटाछोटा सडक पनि बनेका रहेछन् । तर, तिनको कुरा हिजोआज कसैले पनि गर्दैन । सबै फाष्ट ट्र्याकको मात्रै कुरा गर्छन् । बरु, कान्ति राजपथको पो चर्चा बढी चल्छ । त्यस्तै, बालाजुबाट त्रिशूली हुँदै धुञ्चे पुग्ने पासाङ ल्हामु मार्ग होस् वा धुलिखेल हुँदै तातोपानी जाने अरनिको मार्ग, सबैको हालत ‘पत्ला’ नै छ । अरनिको मार्ग त अहिले करीबकरीब बन्दप्रायः छ ।
मदन भण्डारीकै नाममा बनेको काठमाडौंस्थित पथको पनि ऊँटको जस्तो ताल छ, कहीँ फुकेको, कहीँ सुकेको । काठमाडौंकै डिल्लीबजारबाँसघारीबाट अनामनगर घुम्ने टङ्कप्रसाद घुम्ती सडकलाई त ‘वैद्यखाना रोड’ भनेर नामै परिवर्तन भइसकेको छ ।
रमाइलो कुरा त के भने २०४६ सालको परिवर्तनपछि पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सबैभन्दा धेरै सत्तामा रहेका गिरिजाप्रसाद कोइरालाको नाममा सडक नै बनेको रहेनछ । एक त भट्टराई गिरिजाको प्रभावले लामो समय सत्तामा रहन पाएनन् । उनी नामका पछाडि नलाग्ने सन्त नेता भएकाले आफ्नो नाममा सडक बनाएनन् होला । तर, गिरिजाले त बनाउनुपर्ने हो । कि अन्तिम समयसम्म पनि ‘बेबी किङ’ को पक्षमा लवी गरिरहेका कारण सडकको नामकरण राजपथ राख्ने कि गिरिजापथ भन्ने द्विविधाले नभ्याएका हुन् कि ? अहिलेका प्रधानमन्त्री प्रचण्ड दुई पटक सत्तामा पुगे पनि आफ्नो नाममा सडक चैं बनाउन भ्याएका छैनन् क्यारे । भन्न त प्रचण्डपथ भन्छन् । त्यो कुन सडक हो, यो पङ्क्तिकारलाई चाहिँ त्यति मेसो भएन । चुनाव साँच्चै भएर जितेर फेरि सत्तामा आउन पाए भने चैं एउटा न एउटा रोड त आफ्नो नाममा कसो नबनाउलान् ? हुन त के सत्ता, के सडक, विभिन्न नाम र आकारप्रकारका प्रचण्डपथमा हिँड्ने देशैभरि भएकाले आफ्नो नाममा थप सडक बनाउने काम नगर्न पनि सक्लान् प्रचण्डले ।
सडकहरुको अवस्थाको कुरा गर्दा बरु त्रिभुवनपथ त्यति नराम्रो स्थितिमा छैन । नौबीसेदेखि दामन हुँदै वीरगञ्जसम्मै पुग्ने त्रिभुवनपथ पनि दशकौंदेखि ठीकठाकै छ । यद्यपि त्यो पथमा चल्नेहरु त्यति धेरै हुँदैनन् । तर, देशभरिका बाँकी पथहरुको स्थिति अत्यन्त कमजोर भएर वर्षैभरि थुप्रै एक्सिडेण्ट भइराख्छन् । हामी सर्वसाधारणलाई कुन पथमा लम्किने, कुन मार्ग अवलम्बन गर्ने भन्न गाह्रो हुँदै गइरहेको छ । किनकि प्रायः सबै मार्गमा यात्रा गर्नेहरुले बडो दुःख पाइरहेका छन् । बरु अन्यको तुलनामा महेन्द्रपथमा लाग्नेहरुले धेरै कम सास्ती खेपिरहेको देखिन्छ । कहिलेकाहीँ घच्याकघुच्चुक भइहाले पनि बाटो केही समयपछि खुलिहाल्छ । त्रिभुवनपथ पनि ठीकै देखिन्छ । स्मरण रहोस्, महेन्द्रपथको केही भाग त्रिभुवन राजपथमै पर्छ है ।
हिजोआज लोकमार्ग, फाष्ट ट्र्याक, सुरुङ मार्ग आदिको पनि खुब चर्चा चल्न थालेको छ । लोकमान कार्कीका कारण हो वा किन हो, लोकमार्गकोे यात्रा गर्ने जनताले त्यति हसिलो अनुहार बनाएको पाइँदैन । फाष्ट ट्र्याक वा सुरुङ मार्ग भोलि बन्ला नबन्ला, भन्न सकिन्न । किनकि विकास बजेटको १५ प्रतिशत मात्र खर्च हुने देशमा जतिसुकै पूर्वाधार सम्मेलन गरे पनि, मन्त्री प्रधानमन्त्रीले भाषण ठोके पनि सडकलगायतका यस्ता पूर्वाधार चाँडै बनिहाल्ला भनेर विश्वास गरिहाल्ने ठाउँ छैन । त्यसैले अहिलेसम्म हेर्दा बरु सबैभन्दा कम दुर्घटना हुने गरेको महेन्द्रपथ नै बलियो र भरपर्दो लाग्छ । होइन ?