ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वास्थ्यमन्त्रीको जाँडरक्सी नीति २०७३

Mar 3, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

युवानेता तथा स्वास्थ्यमन्त्री गगन थापाले ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३’ ल्याएका छन् । (शीर्षकमा ‘जाँडरक्सी नीति’ किन भनेको भन्नेबारे चाहिँ तल पढ्नुहोला ।) काङ्ग्रेस भए पनि थापा पहिल्यैदेखि अलि क्रान्तिकारी नै थिए । त्यसैले उनले यस्तो प्रगतिशील नीति ल्याएको हुनुपर्छ । यो नीतिअनुसार नै अब छिट्टै कानून पनि बनाउने रे । हुन त यो नीति स्वयम् सरकारले भन्दा पनि विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको प्रतिबद्धतामा ऐक्यबद्धता मात्रै जनाइदिएको पनि हुन सक्छ । कुरा जे भए पनि यो नयाँ मदिरा वा ठेट नेपालीमा भन्दा जाँड नीतिका अनुसार त अब मदिरापान करीबकरीब निषेध गर्ने र यसको प्रचारप्रसार र विज्ञापनमा पूर्णरुपमा बन्देज नै लगाउने रे । त्यति मात्र नभई अब उप्रान्त मदिराका बोतलमै ७५ प्रतिशत भागमा यसको सेवनले भएको कलेजोको सिरोसिस, मुटुरोग आदिको चित्रसँगै मदिरासेवन हानिकारक छ है भनेर पनि लेख्नैपर्ने रे । यत्ति गरिदिएपछि अब देशमा सबैको सुस्वास्थ्य नै सुस्वास्थ्य, शान्ति नै शान्ति, सुख, समृद्धि आउनेछ । किनकि रक्सी खान नपाएपछि मान्छेहरु मात्तिदैनन् । अनि झैझगडा पनि हुँदैन । रोगव्याधी लाग्दैन । यो कानून आएपछि देशमा मृगौला, मुटु, कलेजोका रोग क्यान्सर आदि पनि लाग्दैन । सरकार त्यसै भन्छ ।

अब सार्वजनिक कार्यक्रमहरुमा समेत मदिरा प्रयोग गर्न नपाइने भएपछि रात्रिभोजहरु पनि शान्त हुनेछन् । पार्टीहरुमा अब जुस पिएर मानिसहरु ओम नमः शिवाय, जय सन्तोषी माँ, गोविन्द बोलो बोलो, गोपाल बोलो आदि भजनहरुमा झुम्न थाल्नेछन् । अनि त देशभरि शान्ति कति हो कति । त्यसपछि यो शान्ति मन्त्रालय खारेज गर्दिए हुन्छ ।

त्यो मात्र होइन । यसका अरु पनि थुप्रै फाइदा छन् । एक त मदिरा कम्पनीले मदिरा उत्पादन गर्न विदेशबाट कच्चा पदार्थ ल्याउँछन्, अनि प्रशस्त विदेशी मुद्रा बाहिरिन्छ भने त्यस्तो मदिरा पाउन गाह्रो भएपछि हाम्रै स्थानीय कच्चा पदार्थमा आधारित मदिरा उद्योग फष्टाउँछ । यस्तो मदिरा गाउँ–गाउँमा बन्ने गरेको थियो र अहिले केही मात्रामा छ । किनभने यी बोतलबन्द (सिलबन्द) मदिरा बनाउनेहरुले त्यो हाम्रै विशुद्ध स्थानीय उद्योगलाई विस्थापित गरिदिएजस्तै थियो । अब चैं यो खोयाबिर्के मदिराको स्थानीय उद्योग फेरि शुरु गर्नुपर्छ । अब शहरमा समेत घरेलु मदिरा बनाउन प्रोत्साहित गर्नुपर्छ । किनकि कच्चा पदार्थ खोज्न कहीँ गइरहनै पर्दैन । शहरमा त मासु पसलबाट फ्याँकिएका टुक्राहरु, होटल रेष्टुराँ हस्पिटलहरुबाट फ्याँकिएका सेनिटरी प्याडसहितका फोहोरहरु, पुराना जुत्ता, मोजा आदि प्रयोगविहीन स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर पनि घरेलु मदिरा सजिलै उत्पादन गर्न सकिन्छ, विगतमा जस्तै । यसो गर्दा शहरबाट फोहोर पनि गायब, मोहोर पनि आर्जन हुन्छ ।

अब ‘जाँडरक्सी नीति’ भन्ने व्याख्याको कुरा गरौं । यस्ता खोयाबिर्केलाई ठेट नेपालीमा ‘जाँडरक्सी’ नै भनिन्छ र यो नयाँ सरकारी नीतिले यही जाँडरक्सीको प्रवर्द्धन गर्ने भएपछि यसलाई ‘जाँडरक्सी नीति’ नै भन्नु बढी उपयुक्त हो । अझ प्रवर्द्धन भन्ने शब्द पनि थपेर ‘जाँडरक्सी प्रवर्द्धन नीति’ भन्ने हो भने झन् ठ्याक्कै मिल्छ ।

मदिरा उद्योगी र बेच्ने व्यापारीहरुले यो नीतिले कर सङ्कलन कम हुने, उद्योगको लगानी डुब्ने, रोजगारी गुम्ने आदि केके कुरा मन्त्रीलाई सुनाएछन् । ती कुरा मन्त्रीले सुन्नुहुँदैन । कर घटेर सरकारलाई के फरक पर्छ र ? आखिर कर जति उठाए पनि सरकारले खर्च गर्न सक्ने होइन । रोजगारी पनि नेपालमा नभए खाडी मुलुक छँदै छ, नेपाली युवायुवतीलाई सेवामा लगाउन भनेर तम्तयार । जहाँसम्म उद्योगीका लगानी डुब्ने कुरा छ, त्यो त स्वास्थ्य मन्त्रालयलाई के चासो ? किनकि उसले त जनताको स्वास्थ्य पो हेर्ने हो, उद्योगीको लगानी हेर्ने होइन नि । त्यसमा पनि सरकारकै काङ्ग्रेसी उद्योगमन्त्रीले धमाधम सरकारी उद्योगहरु ब्युँताउँदै लाने भनिसकेकै छन् । प्राइभेट लिमिटेडहरु चलून् वा बन्द होऊन्, सरकारी मन्त्रीलाई के मतलब ?

अब मदिरा मात्र नभई स्वास्थ्यका लागि हानिकारक अरु थुप्रै पदार्थहरुको पनि उत्पादन, प्रचारप्रसार, विक्रीवितरण रोक्न थाल्नुपर्छ । उदाहरणका लागि दुग्धजन्य पदार्थ, मासु, अण्डा, चामल, दाल, फलफूल, तरकारी आदि । किनकि दुग्धजन्य पदार्थहरु जस्तै दूधमा जियार्डिया, कोलिफर्मजस्ता हानिकारक तत्वहरु पाइन्छन् । त्यति मात्र नभई डाक्टरहरु भन्छन् कि खासगरी ४० कटेका व्यक्तिहरुले घिउ, पनीर आदि खायो भने मुटुरोग, ग्याष्ट्रिक आदि बढाउने हुनाले यस्तो पदार्थ सेवन नगर्नु नै उचित हुन्छ । त्यस्तै, मासुमा पनि धेरै प्रकारका रोगजन्य कीटाणुहरु पाइने हुनाले सकेसम्म नखानु भनिन्छ । त्यस्तै, फलफूल, तरकारी, दाल, चामल, तेल आदिमा पनि हिजोआज विविध प्रकारका विषालु कीटनाशक औषधिहरु प्रयोग गरिने हुनाले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको भन्दै विज्ञहरुले त्यस्ता पदार्थहरु प्रयोग नगर्न बारम्बार चेतावनी दिने गरेका छन् ।

त्यसैले हाम्रा स्वास्थ्यमन्त्रीले मदिरा सेवन नियन्त्रण गर्ने नीति त्यसै ल्याएका होइनन् वा जाँड खाएको बेला यो नीति बनाएका पनि पक्कै होइनन् । नेपाली जनताको स्वास्थ्यको रक्षाका खातिर उनले यस्तो नीति ल्याएका हुन् । यो नीतिले अब देशमा शान्ति मात्र कायम हुँदैन, बरु नेपाली जनताको ‘ह्याप्पिनेस इण्डेक्स’ अर्थात् खुशीको परिसूचक पनि ह्वात्तै बढ्नेछ । नपत्याए मदिरा प्रतिबन्धित देशहरु (जस्तै, साउदी अरब, इराक, इरान, पाकिस्तान, अफगानिस्तानजस्ता देशहरु) मा गएर हेर्नुस् त, त्यहाँ कति सुख, शान्ति, अमनचैन कायम छ ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)