बिहान सबेरै उठेर काममा हिँड्नुपर्ने कतिपय मानिस र विद्यार्थीलाई घडीमा लगाइएको अलार्मको ककर्श आवाज मिठो निद्रा बिथोल्ने तत्वमात्र हुने गर्दछ । तर, हालै यूरोपमा गरिएको एक अध्ययनमा भने यसरी निद्रा बिथोलिँदा मानिसको तौल बढ्ने पाइएको छ । ‘करेण्ट बायोलोजी’ नामक वैज्ञानिक जर्नलको पछिल्लो अङ्कमा प्रकाशित उक्त अध्ययनका अनुसार मानिसको शरीर पनि बाहिरको घडीझैं एक नियमित चालमा चलिरहेको हुन्छ । उक्त चालमा हुने परिवर्तनहरुले शारीरिक स्वरुपमा पनि परिवर्तन गर्न सक्ने अनुसन्धानकर्ताहरुले औंल्याएका छन् ।
युनिभर्सिटी अफ म्युनिखका शरीर विज्ञान विषयका प्राध्यापक टिल रोनेनबर्ग नेतृत्वको टोलीले यो अध्ययनमा मानिसको तौल मापन गर्न प्रयोग हुने सूची ‘बडी मास इण्डेक्स’ (बीएमआई), घडी र शरीरको चालबीच रहेको सम्बन्धलाई मूल्याङ्कन गरेका थिए । यसका लागि मध्य यूरोपका साढे ६ हजार मानिसलाई एक प्रश्नावली बाँडिएको थियो । उक्त प्रश्नावलीमा ती मानिसका सुत्ने बानीबेहोराबारेका प्रश्नहरु समावेश गरिएका थिए । प्रश्नावलीहरुको सङ्कलनपछि अनुसन्धानकर्ताहरुले गरेको विश्लेषणमा शारीरिक चाल बिथोलिने गरी निद्राबाट उठेका मानिसहरुको तौल बढ्ने पाएका थिए । यतिमात्रै नभई उनीहरुमा मानसिक तनाव पनि वृद्धि हुने र त्यसलाई कम गर्न धूमपान, मध्यपान र क्याफेनयुक्त पेय बढी मात्रामा सेवन गर्ने अनुसन्धानकर्ताहरुले बताए ।
‘यो अध्ययनबाट मोटोपनाका कारणमध्ये शरीरको आन्तरिक चाल बिथोलिनु पनि एक रहेको पाइएको छ,’ करेण्ट बायोलोजी जर्नलमा प्रकाशित आलेखमा उल्लेख छ । रातभरि आरामदायी ढङ्गले निदाइएमा शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी नष्ट हुने र मोटोपना बढ्न नपाउने अनुसन्धानकर्ताहरुको भनाइ छ । यसका साथै राति थोरै समयका लागि मात्र निदाउँदा मोटोपनाबाहेक अन्य समस्याहरु जन्मिने उनीहरुले उल्लेख गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अनिद्रा वा छोटो निद्राले टाइप २ डायबेटिज, अल्जाइमर र मुटुसम्बन्धी समस्याहरु शुरु गराउन सक्छ ।