मीठो खानेकुरा देखेर हामी सबैको मुख रसाउँछ । कहिलेकाँही भोक लागेको बेलामा त पसल वा स्टलमा देखेका खानेकुरा देख्दा नै हाम्रो भोक झन् जाग्छ । कतिपय होटल रेष्टुराँमा साजसज्जाका लागि वास्तविकजस्तै देखिने तर नक्कली फलफूललगायतका वस्तुहरू झुण्ड्याएर राखेको हामीले देखेका छौं । तर, जापानका रेष्टुराँहरूमा भने हेर्दै मुखमा पानी आउने नक्कली खानेकुराहरू राख्ने गरिएका छन् ।
ती खानेकुरा खानका लागि नभएर ग्राहकलाई आकर्षित गर्नका लागि मात्रै बनाइएका हुन् । जापानका प्रायः रेष्टुराँमा फिँजैफिँज भएको बियरदेखि सुशी र हामबर्गदेखि डिप फ्राइड पोर्क कट्लेटसम्मका विभिन्न परिकारका प्रतिचित्र देख्न पाइन्छ । यस्तो नक्कली खानेकुरा बनाउनु पनि कला हो । रेष्टुराँ चलाउन विगत ६ दशकदेखि यस्तो कलाकारिता देखाउँदै आइएको छ । ‘मैले अहिलेसम्म गनेको त छैन, तर मैले दश हजारौं पटक यस्ता नक्कली परिकार बनाइसकेको छु,’ टोकियो आसपासको एक रेष्टुरामा नक्कली परिकार बनाउने ७९ वर्षीय कलकार नुरियुकी मिशिमाले भने ।
यस्तो परिकार बनाउन गाह्रो भए पनि परिकारमा वास्तविक रङ ल्याउनु झनै कठिन भएको उनी बताउँछन् । जापानको करीब एक शताब्दीअघि यस्तो प्रचलन शुरू भएको बताइन्छ । त्यतिबेला मैन प्रयोग गरेर त्यस्ता खानेकुरा बनाइन्थ्यो अनि त्यसमाथि रङ लगाइन्थ्यो । तर, अहिले यस कार्यका लागि सिलिकनको प्रयोग गरिन्छ । १९२० को दशकको शुरूमा डाक्टरका लागि मानव अङ्ग बनाउने कलाकारलाई रेष्टुराहरूले आफूले बेच्ने गरेको खानेकुरा बनाउन लगाएका थिए ।
जापानीहरुमा घरबाहिर खाने प्रवृत्ति बढ्न थालेपछि यस्तो कार्य झनै बढ्यो । त्यस्तैगरी, जापानी भाषामा मात्रै मेनु भएका रेष्टुराँहरूले विदेशी पयर्टकका लागि भनेर अर्डर गर्न मिल्ने सबै खानेकुराको यस्तै प्रतिचित्र बनाउन थाले । सिलिकन मोल्डबाट ‘स्पञ्जी’ केकदेखि ‘सिजलिङ’ हामबर्गरसम्म जुनसुकै खानेकुरा बनाउन सकिने मिशिमाले बताएका छन् । तर, पछिल्लो समय विकसित भएको थ्रीडी प्रिण्टर्स प्रविधिले यस्तो कलाकृतिलाई जोखीममा पर्ने चिन्ता बढेको छ । रासस/एएफपी