हामीमध्ये कसैलाई हरियो रङ मन पर्छ अनि कसैलाई रातो । कोहीले हरेक कुरा पहेँलो रङकै मन पराउनु होला । अनि कसैले चाहिँ नीलो । कोही चाहिँ राशिमा शुभ भनिएका रङका पहिरन अनि वस्तु बोक्छन् । कसैले अन्धविश्वास भनेर यस्ता कुरा मान्दैनन् । हालै सिङ्गापुरमा गरिएको एक अध्ययनले भने नीलो ट्याक्सीको तुलनामा पहेँलो ट्याक्सी चढ्दा दुर्घटनामा पर्ने जोखीम कम भएको देखाएको छ । यसका लागि नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका अनुसन्धाताहरुले त्यहाँको सबैभन्दा ठूलो ट्याक्सी सेवा प्रदायक कम्पनीको पछिल्लो ३ वर्षको दुर्घटनाका तथ्याङ्कहरु विश्लेषण गरेका थिए । सो कम्पनीले मुख्यतः नीलो र पहेँलो रङको ट्याक्सी चलाउने गरेको छ । विश्लेषणका क्रममा हरेक महीना प्रत्येक १ हजार दुर्घटनामा नीलो ट्याक्सीको तुलनामा पहेँलो ट्याक्सीमा ६ दुर्घटना कम भएको पाइएको छ । नीलोको तुलनामा पहेँलो रङ बढी चम्किलो हुने र देखिने भएकाले पनि यस्तो भएको प्रतिवेदनमा बताइएको छ । दुर्घटनाका कारक खुट्याउन विश्लेषकहरुले स्पीड मनिटरिङ डाटा प्रयोग गरेका थिए । यस क्रममा चालकहरुले सुरक्षित ड्राइभिङका लागि पहेँलै ट्याक्सी रोज्ने गरेको तथ्याङ्कसमेत भेटिएको थियो ।
यो तथ्यलाई थप प्रमाणित गर्न विद्यालयका बसलगायतका सार्वजनिक यातायातका साधनमा समेत पहेँलो रङ प्रयोग गर्न खोजिएको बताइएको छ । ‘अँध्यारो रङ भएका सवारीसाधनको दुर्घटना दर उच्च रहेको वास्तविक प्रमाण भेटिएको छैन, तर केही अध्ययनहरुले व्यावहारिक रुपमै रङ र दुर्घटनाका जोखीमबीच संयोगात्मक सम्बन्ध स्थापित गरेका छन्,’ नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका प्राध्यापक हो टेक हुवाले भने । सार्वजनिक यातायातका साधनको रङ निर्धारणमा रङको दृश्यलाई महङ्खवपूर्ण भूमिका निर्वाह गर्न दिनुपर्ने आफूहरुले गरेको अध्ययनले औंल्याएको उनले बताए । ‘सबै ट्याक्सीमा पहेँलो रङ लगउने व्यावसायिक निर्णयले मानिसहरुको जीवन बचाउन सक्छ र करोडौं डलरबराबरको आर्थिक क्षति पनि कम गर्न सक्छ,’ हुवाले भने । अध्ययनमा ‘कम्फर्ट डेल्ग्रो’ले सञ्चालन गरिरहेका ४ हजार १ सय ७५ ओटा पहेँला ट्याक्सी र १२ हजार ५ सय २५ ओटा नीलो ट्याक्सीको समीक्षा गरिएको थियो । यसक्रममा हरेक महीना १ हजार ट्याक्सीमा नीलो ट्याक्सीको दुर्घटना दर ७१ दशमलव ७ र पहेँलोको भने ६५ दशमलव ६ रहेको पाइएको छ ।
सबै ट्याक्सीमा पहेँलो रङ लगाउँदा ‘कम्फर्ट डेल्ग्रो’ले वार्षिक मर्मत सम्भार र क्षतिबापतको २० लाख सिङ्गापुर डलर बचत गर्न सक्ने अनुसन्धाताहरुको अनुमान छ । अध्ययनको निष्कर्ष निकै रोचक रहेको र यसबारे आफूले राम्ररी विचार गर्ने कम्फर्ट डेल्ग्रोका प्रवक्ताले बताए । रङ र दुर्घटनाका बीचमा सह–सम्बन्ध भेटिएको नै पहिलोपटक भने होइन । यसअघि सन् २००३ मा न्यूजिल्याण्डमा गरिएको एक सर्वेक्षणले समेत सेतो रङका कारका तुलनामा चाँदी रङका कारको दुर्घटना हुने सम्भावना ५० प्रतिशत कम हुने देखाएको थियो । एजेन्सी