नेपालमा प्रजातन्त्र बलियो बन्दै जाने लक्षणहरु टड्कारो देखिँदै गएका छन् । हिजो अस्ति मात्रै सप्तरीको राजविराज नजिकै दुईटा राजनीतिक समूहले प्रजातान्त्रिक आचरण गरेपछि सरकारले अर्थात् प्रहरीले पनि प्रजातान्त्रिक आचरण गरेर देखाइदियो । अबचाहिँ १६ वर्षपछि भए पनि स्थानीय तहको चुनाव होला होला जस्तो भएको छ । प्रजातन्त्रमा मुख्य भूमिका राजनीतिक दल र तिनका नेताहरुको हुन्छ । त्यसैले नेपालमा दलहरु बन्दै, बिग्रँदै, फेरि बन्दै गरेर बढ्दै गएका छन् । प्रजातन्त्रका लागि यो राम्रो सङ्केत हो । उदाहरणका लागि कम्युनिष्ट पार्टीहरु हुन् या मधेशवादी वा राप्रपा, सबै फुट्दै र जुट्दै प्रजातन्त्र बलियो बनाउन लागिपरिरहेका छन् ।
माओवादी दलकै उदाहरण हेरौं न । सत्तामा माओवादी छ, सडकमा माओवादी नै । विभिन्न नाम, आकार र प्रकृतिमा माओवाद हावी छ । भगवान्लाई नारायण भन्नुस्, विष्णु भन्नुस्, शिव भन्नुस्, कुरा एउटै हो भनेजस्तै सडकका भए पनि सदन वा सरकार जहाँका भए पनि काम, स्वभाव, बुद्धि सबै सबै हिसाबले सबै माओवादी एकै नै हुन् । कसैलाई सरकारमार्फत चन्दा दिन मन लागे प्रधानमन्त्री तहमै गएर दिए हुन्छ । कसैलाई नयाँ शक्तिका नाममा दिन मन लागे उतै लागे हुन्छ । बन्दूक देखाए मात्र दिने भन्ने कसैलाई लाग्छ भने चन्दलाई चन्दा थमाए हुन्छ । बूढोपाकोलाई मात्र पत्याउने हो भने वैद्यजीलाई वैध अवैध जसरी दिए पनि हुन्छ । जहाँ जसलाई जसरी दिए पनि पैसा, दानदातव्य पुग्ने माओवादीलाई नै र खास गरी कमरेड प्रचण्डलाई नै हो । किनकि यो सबै सृजनाका ब्रह्मा स्वयम् प्रचण्ड नै हुनुहुन्छ ।
नेपालमा नेताहरु आदरणीय हुनुहुन्छ । उहाँहरुले देशमा यस्तायस्ता किसिमका प्रणालीहरुको विकास गर्दै जानुभएको छ कि त्यसले प्रजातन्त्रलाई नै थप बलियो बनाउँदै जानेछ । उदाहरणका लागि तपाईं नेता हुनुहुन्छ भने एकैपटक दुई ठाउँबाट चुनाव लड्न सक्नुहुन्छ र जेलभित्र हुनुहुन्छ भने पनि भोट हाल्ने सुविधा प्राप्त गर्नुहुन्छ । नेता जति जेलमा बसेको छ, उति उसको इज्जत हुन्छ र जेल बाहिर आएपछि उसले अझ इज्जतसाथ उनै पद प्राप्त गर्छ । भलै जेलबाट भोट दिने सुविधा वा जेलबाट छुटेपछि नोकरी गर्ने सुविधा आम जनतालाई भने हुँदैन । किनकि यस्ता सुविधा नेपालमा नितान्त नेताहरुलाई मात्र उपलब्ध गराइएको हो । किनकि प्रजातन्त्रमा नेतालाई बलियो बनाउनैपर्छ । नत्र अरुले शासन हत्याउन बेर लाउँदैनन् ।
तपाईं बीए, एमए आदि पास हुनुहुन्न भने तपाईंले जागिर पाउनुहुन्न । तर, नेतालाई बलियो बनाउनकै लागि अङ्गुठाछाप अर्थात् ‘ल्याप्चे’ मात्र गर्न जान्ने योग्यता भए पनि उद्योगमन्त्री वा अर्थमन्त्री बन्न सक्ने प्रावधान नेपालमा छ । त्यसो नगर्ने हो भने प्रजातन्त्र बलियो हुँदैन । नेता मात्र होइन, नेताको कृपादृष्टि पर्ने जोकोही व्यक्ति पनि क्षेत्रगत वा प्राविधिक हिसाबले अङ्गुठाछाप भए पनि प्राविधिक पदमा अर्थात् गभर्नर, बीमा समिति, धितोपत्र बोर्ड आदिका अध्यक्ष, कार्यकारी वा कुनै देशका राजदूत जस्ता पदहरुमा वरिष्ठताका आधारमा नभई नेताका कृपादृष्टिका कारण कसरी बहाली हुने गर्छ त्यसका उदाहरणहरु हाम्रा सामु देखिएकै छन् । एउटा सामान्य सिपाही बन्न १० किलोमिटर दौडेर देखाउनुपर्छ । तर, रक्षामन्त्री वा गृहमन्त्री बन्न यो सब केही पर्दैन । अझ कुनै व्यक्तिको कुलमा नै कोही विद्यालय नगएको हुन सक्छ । तर, उसलाई शिक्षामन्त्री बन्न केवल नेता भए पुग्छ । कसैको विरुद्ध अदालतमा सयौं मुद्दा चलिरहेको हुन सक्छ । तर, नेतागिरीकै कारण ऊ कानून तथा न्यायमन्त्री बनाइन सक्छ । हिजो लोकमान कसरी एकाएक अख्तियार प्रमुखमा नियुक्ति पाएका थिए, जगजाहेर नै छ । कुनै सरकारी कर्मचारीले २० वर्षको साटो १९ वर्ष मात्र सेवा ग¥यो भने पेन्सन आदि सुविधा पाउँदैन । तर, कुनै नेता मन्त्री, प्रधानमन्त्रीजस्ता उच्च पद केही समयका लागि एकपटक पाउनेबित्तिकै आजीवन अनेक सेवा सुविधा प्राप्त गरिरहन्छन् ।
यसरी नेतालाई मात्र सुविधा दिइनुको एउटै कारण नेपालमा प्रजातन्त्रलाई बलियो बनाउनकै लागि हो भनेर सबैले बेलैमा बुझ्नुपर्छ । त्यसैले त उतिबेला नै स्व. भैरव अर्यालले भनेका थिए :
नेतानां नेतीनां चैव वचनं नैव लङ्घयेत् ।
संसदीये प्रजातन्त्रे पार्टी नेतैव ईश्वरः ।।